back
stc
prabhu insurance

दलको महाधिवेशनमा उम्मेदवार बनेका पत्रकारको सदस्यता खारेज गर्ने महासंघको चेतावनी

काठमाडौँ । नेपाल पत्रकार महासंघले दलको चुनावमा उम्मेदवार बनेका पत्रकारको सदस्यता खारेज गर्न सक्ने चेतावनी दिएको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दे महासंघले पत्रकार आचारसंहिता, स्वतन्त्र पे्रसको विश्वव्यापी मान्यतालाई ख्याल गर्न आग्रह गर्दै यस्तो चेतावनी दिएको हो ।

‘राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

महासंघको विधान २०६०(पाँचौँ संशोधन) ले प्रष्ट रूपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भन्ने कुरा व्यवस्था गरेको तर्फ महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंघले विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्य विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

‘प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट आएका आलोचना तथा टीकाटिप्पणीलाई महासंघ केन्द्रीय समितिले गम्भीर रूपमा लिएको छ’, विज्ञप्तिमा थप भनिएको छ ।

महासंघका महासचिव रोशन पुरीले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा गत भदौ ९ गते मकवानपुरको दामन बैठकबाट पारित तीन वर्षे कार्ययोजनाको बुँदा ३.५ को व्यवस्थालाई ख्याल गर्न अनुरोध गर्नुभएको छ ।

कार्ययोजनाको बुँदा ३.५ मा भनिएको छ, ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्नेगरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिने छ ’ महासचिव पुरीले उक्त व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय समिति प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।