तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट विद्युत् उत्पादन थालिए

काठमाडौँ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन थालिएको छ ।
असार २१ मा पहिलो युनिट सञ्चालन गर्दै उद्घाटन गरिएको सो आयोजनाबाट शुक्रबार रातिदेखि तेस्रो युनिट सञ्चालन गरिएको आयोजनाले जनाएको छ ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् गृहमा ७६ मेगावाटका छवटा टर्वाइन जोडिएका छन् । पहिलो र दोस्रो युनिटको परीक्षण उत्पादन सफल भएपछि तेस्रो युनिट पनि सञ्चालनमा ल्याइएको माथिल्लो तामाकोसी जलविद्युत् लिमिटेडका कार्यकारी निर्देशक विज्ञान श्रेष्ठले जानकारी दिनुभयो ।
यससँगै ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट २२८ मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । साउनभित्रै चौथो युनिट पनि सञ्चालन गर्ने र भदौभरमा बाँकी दुई युनिट पनि सञ्चालन गरी अयोजना पूर्ण क्षमतामा चलाउने योजना बनाइएको छ ।
साउनभित्रै ३०४ मेगावाट विद्युत् उत्पादन थालिने छ । विद्युत् उत्पादनका लागि विद्युत् गृहमा जडित छमध्ये चारवटा युनिट साउनभित्रै सञ्चालन गरिने आयोजनाले जनाएको छ । परीक्षणका लागि प्राविधिकहरूले काम गरिरहेको र क्रमिक रूपमा टर्वाइनहरू परीक्षण गर्दै जाने उहाँले बताउनुभयो ।
श्रेष्ठका अनुसार सबै परीक्षण सकेर व्यावसायिक उत्पादनमा जाने मिति पनि तय भएको छ । पहिलो चार युनिटबाट यसै महिना ३०४ मेगावाट विद्युत्को व्यावसायिक उत्पादन हुनेछ भने बाँकी दुईसमेत गरी सबै युनिटबाट व्यावसायिक उत्पादन गर्न अर्को एक महिना लाग्नेछ ।
यस अनुसार माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट असोजको मध्यदेखि पूर्ण क्षमतामा व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने योजना लिमिटेडको छ ।
वि.सं.२०७८ साउन १० ०७:३३