back
stc
prabhu insurance

अरुण काबेलीको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । अरुण काबेली पावरको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३ सय ६२ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । तसर्थ, आइतबार यही मूल्यलाई आधार मानेर यसको पहिलो कारोबार खुल्नेछ ।

अरुण काबेलीको बिहीबारको अन्तिम कारोबार मूल्य ३९९ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । कम्पनीले कात्तिक ३० गते बस्ने वार्षिक साधारण सभाको लागि आज शुक्रबार कात्तिक १८ गते बुक क्लोज गरेको छ ।

सभा अल्फा बीटा कम्प्लेक्सको चौथो तल्ला, नयाँ वानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत  नगद  गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

यस्तै, गत आर्थिकक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि रहेको छ । नयाँ परियोजनामा लगानी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ ।

यता, कम्पनीले १ः१ अनुपातमा (१०० प्रतिशत) हकप्रद बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । बोर्डले अनुमति प्रदान गर्ने बेलासम्म कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि स्वीकृति प्रदान गर्ने सम्बन्धी प्रस्ताव पनि सभामा लगिने अरुण काबेलीले जानकारी गराएको छ ।

अरुणको हाल १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । प्रस्तावित बोनस सेयर वितरण भएमा चुक्ता पुँजी २ अर्ब ४ करोड ७ लाख ३१ हजार ५५० रुपैयाँ पुग्नेछ ।