back
stc
prabhu insurance

इङवा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । इङवा हाइड्रोपावरको आइपीओमा आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज चैत २० गते सोमबार अन्तिम दिन हो ।

सोमबार बैंकिङ समयपश्चात आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री बन्द हुने कम्पनीले जानकारी गराएको छ । इङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।

इङवा हाइड्रोपावरको आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई भने चैत ५ गतेसम्म आइपीओ बिक्री खुला भएको थियो ।

यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । जस अनुसार हाइड्रोपवारले १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख कित्ता सेयर निष्कासन गरेको हो ।

यसमा आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउपालिका वडा नं ३ र पाँचथर जिल्लाको यङपरक गाउपालिकाको वडा नं २ स्थानीय बासिन्दाहरुका लागि उक्त सेयर निष्कासन गरेको हो ।

त्यस्तै, सर्वसाधारणमा निष्कासन हुने १२ लाख कित्तामध्ये १० प्रतिशत अर्थात १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको छ ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

यो आइपीओमा नेपाल एसबिआई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका तोकेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।