साल्ट ट्रेडिङले असोज १ गतेदेखि ३८ वटा सुपथ मूल्य पसल खुल्ने

काठमाडौं । सरकारले दशैं लक्षित सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको छ । यस्ता पसलमा उपभोक्ताले अन्यत्र भन्दा २० प्रतिशतसम्म कम मूल्यमा उपभोग्य सामानहरु खरिद गर्न सक्नेछन् ।
बजारको मूल्य नियन्त्रण गर्न र सर्वसाधारणलाई सहजरुपमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन हुने छन्। सरकारले यसका लागि सवा तीन करोड रुपैयाँ बजेट निकासा गरिसकेको छ । आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसलहरु सञ्चालनमा आउनेछन् ।
प्रत्येक वर्षको दशैं–तिहार र छठ पर्वमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल चलाएर सस्तोमा सामान बिक्री गर्ने गरेका छन् ।
साल्ट ट्रेडिङ ले ग्यास, चिनी, चामल र दाल लगायतका बस्तुहरु बिक्री गर्छ भने खाद्य कम्पनीले जुम्लाको सिमी, विभिन्न प्रकारको दाल, ग्यास र फापर बिक्री गर्छ । कम्पनीले दशैंमा विभिन्न ठाउँबाट खसी–बोका ल्याएर समेत बिक्री गर्ने गरेको छ ।
चाडपर्वका लागि सञ्चालनमा ल्याइने सुपथ मूल्य पसलमा सामान्य पसलमा भन्दा करिब २० प्रतिशत सस्तो हुने साल्ट ट्रेडिङ लिमिटेडका सूचना अधिकारी कुमार राजभण्डारीले बताए । सामान्य पसलमा भन्दा अहिले पनि साल्ट ट्रेडिङ्गले ५ देखि १० प्रतिशत सस्तोमा नै सामान बिक्री गरिरहेको छ।
साल्ट ट्रेडिङले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । सरकारले निर्णय पनि गरिसकेको छ । साल्ट ट्रेडिङले सञ्चालन गर्ने सुपथ मूल्य पसलले अरु पसलले भन्दा १५ देखि २० प्रतिशत सस्तोमा खाद्यान्न बिक्री गर्नेछ ।
यस वर्षको दसैंमा बिक्री गर्ने चिनी भने साल्ट ट्रेडिङसँग छैन । अर्थ मन्त्रालयले चिनी आयात गर्न अहिलेसम्म स्वीकृति नदिएकाले चिनी खरिद गर्न सकेको छैन।
सरकारले अब स्वीकृति र बजेट दिए पनि भारतबाट चिनी आयात गर्न सकिने समय छैन, दशैंपछि पनि ल्याउन मुस्किल पर्छ । अघिल्लो वर्ष चाडपर्वमा २० मेट्रिक टन चिनी भारतबाट ल्याएर साल्ट ट्रेडिङ्गले बिक्री गरेको थियो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपानेले असोज १ गतेबाट कम्पनीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने जानकारी दिइन् ।
उनले अघिल्लो वर्ष जस्तै यस वर्ष पनि चामल, तेल र खसी–बोकामा छुट दिएर सुपथ मूल्य पसल सञ्चालन गर्ने बताइन । कम्पनीले २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिनेछ । उद्योगको मूल्यमा नै खाने तेल पनि बिक्री गर्ने भएको छ ।
कम्पनीले चामलमा प्रतिकेजी ५ रुपैयाँ र नुनमा २ रुपैयाँ छुट दिएर सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । अन्य कुन–कुन बस्तुमा छुट दिने भन्ने मन्त्रालयबाट पत्र आएपछि मात्रै थाहा हुने न्यौपानेले बताइन् ।
उद्योग मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले सुपथ मूल्य पसल सञ्चालन गर्न साल्ट ट्रेडिङ्गलाई १ करोड ५० लाख र खाद्य कम्पनीलाई १ करोड ७५ लाख बजेट निकासा भैसकेको बताइन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले चाडपर्वको बेला देशभर ८१ वटा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको छ । खाद्य कम्पनीले काठमाडौं उपत्यका सहितका ४० जिल्लामा ४३ वटा र साल्ट ट्रेडिङले ३८ वटा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका छन् । पसल असोज १ गतेदखि कार्तिक २४ गतेसम्म सञ्चालन हुनेछन् ।
गत वर्ष उच्च मूल्यका कारण च्याङ्ग्रा ल्याउन नसकेको कम्पनीले यस वर्ष पनि च्याङ्ग्रा नलाउने भएको छ । कुन ठाउँबाट कति खसीबोका ल्याउने भनेर अध्ययन शुरु भएको सूचना अधिकारी न्यौपानेले बताइन् ।
खाद्यको काठमाडौंमा रामशाहपथ, थापाथली, नख्खु र केन्द्रीय कार्यालयमा सहुलियत पसल हुनेछ भने अन्य ३९ पसल उपत्यका बाहिरका ४० जिल्ल्लामा सञ्चालनमा आउनेछन् ।
यता साल्ट ट्रेडिङले उपत्यका सहित देशभर ३८ वटा स्थानमा पसल राख्ने तय भएको कर्पोरेसनका सूचना अधिकारी राजभण्डारीले जानकारी दिए ।
वि.सं.२०७८ भदौ २८ २०:४९