चिनीको मूल्यमा कालोबजारी
काठमाडौं । चाडपर्वको समयमा सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग चिनीको अभाव भएको मौका छोप्दै व्यापारीहरूले मनपरी ढंगले चिनीको मूल्य बढाएका छन् ।
दशैं अघिसम्म प्रतिकिलो ९० देखि ९५ रुपैयाँसम्म रहेको चिनीको मूल्य दोस्रो ठुलो चाड तिहार शुरू हुन लाग्दा प्रतिकिलो ९५ देखि १ सय रुपैयाँसम्म पुगेको छ ।
अझ बजारमा प्रयाप्त चिनी पाउन छोडेको छ। कुनै–कुनै पसलमा प्रति किलो चिनी १२० रूपैयाँसम्म बिक्री हुने गरेको छ। बजारमा चिनी चरम अभाव हुन थालेको छ।
ठूला व्यापारी र बिचौलियाको मिलेमतोमा मनपरी रूपमा चिनीको मूल्य बढाइएको पाइएको छ । पसलैपिच्छे चिनीको मूल्य फरक रहेको पाइएको छ ।
खुद्रा व्यापार संघका अनुसार ठूला व्यापारी र उद्योगीहरूका कारण चिनीको मूल्य अनियन्त्रित भएको छ । ठूला व्यापारीहरूले सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै खुद्रा व्यापारीहरूसँग नै प्रतिकिलो ९५ रुपैयाँमा चिनी विक्री गर्न थालेपछि खुद्रा व्यापारीहरूले बाध्य भएर मूल्य बढाएर बेच्नु परेको खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताएका छन ।
बजारमा चाडपर्वको बेलामा चिनीको अभाव हुन्छ,बजारमा चिनीको मुल्य अस्वाभाविक रूपमा बढछ र कालोबजारी हुन्छ भनेर नै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत जेठ महिनामै उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा भन्सार छुटमा चिनी आयात गर्न आग्रह गर्दै पत्र पठाएको थियो। आपूर्ति मन्त्रालयले पनि भन्सार छुटमा चिनी आयातका लागि निर्णय गर्न अर्थ मन्त्रालयमा स्वीकृतका लागि पत्र पठाएको थियो।
तर त्यसमा अर्थ मन्त्रालयले कुनै निर्णय नगरि विगत पाँच महिनासम्म फायल लुकाएर बस्यो,कुनै निर्णय गरेन। जसका कारण अहिले बजारमा चिनीको अभाव हुँदा बजारमा चिनीको मूल्य बढेको छ। चिनी मिलका मालिकले नै चिनीको मूल्य बढाएका छन।
भन्सार छुटमा चिनी आयात नगर्न चिनी मिलका मालिक र ठुला व्यापारीले अर्थ मन्त्रालयका अधिकारीहरूलाई दबाव दिएका कारण साल्ट ट्रेडिङ कर्पोरेसनले यस बीचमा भन्सार छुटको चिनी आयात गर्न पाएन।
जसको कारणले सरकारी कम्पनीले बजारमा मूल्य हस्तक्षेप गर्न नसकेकै कारण अहिले चिनीको मूल्य बृद्वि,अभाव र हाहाकार हुन पुगेको छ । चिनी मिलले किसानलाई उखुको मूल्य अझै भुक्तान नगरेका कारण विगत दुई–तीन वर्षदेखि किसानले उखु कम लगाइ अन्य बाली लगाउन थालेकाले चिनी उत्पादन नै कम हुँदै आएको छ।
त्यसैले अझै तीन–चार महिना चिनीको मूल्य बढने,अभाव हुने र कालोबजारी हुने सम्भावना रहेको छ। यसरी बजारमा चिनीको अभाव हुन नदिन,मूल्य बढन र कालो बजारी हुन नदिन भन्सार छुटमा चिनी आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेसनलाई सरकारले छिटो भन्दा छिटो स्वीकृत दिनु पर्दछ ।
वि.सं.२०७८ कात्तिक ११ ०६:५१




















