back
prabhu insurance
himalayanlife

सरकारको गलत नीतिका कारण साल्ट ट्रेडिङ कर्पोरेसनको कारोबारमा असर

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको जनाएको छ।

समीक्षा अवधिमा कम्पनीले ४८ लाख ८५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६४.९४ प्रतिशतले न्यून हो । गत वर्ष कम्पनीले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ।

कम्पनीको बिक्रीबाट हुने आम्दानी पनि ३०.६० प्रतिशतले घटेको छ । गत वर्ष कम्पनीले बिक्रीबाट २ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा १ अर्ब ५९ करोड रुपैयाँको मात्रै आम्दानी गरेको जनाएको छ।

कम्पनीले अन्य शीर्षकमा १ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्ष यही अवधिमा १ करोड ७५ लाख रुपैयाँमा सीमित थियो।

चुक्ता पुँजी २३ करोड ४ लाख २९ हजार रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार थोरै बढेर १ अर्ब ३१ करोड रुपैयाँको पुगेको छ। गत वर्ष रिजर्भमा १ अर्ब ३० करोड रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८.४८ रुपैयाँ रहेको छ। पीई रेसियो ९९६.३० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ४४९.६६ रुपैयाँ रहेको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आउने आर्थिक उतारचढाव, अस्वस्थ व्यापारिक प्रतिस्पर्धा र विश्व महाकारी कोरोनाभाइसको प्रभावले कम्पनीको कारोबारमा असर परेको वित्तीय विवरणमा उल्लेख छ ।

गत वर्ष सरकारले कर्पोरेसन मार्फत भन्सार छुटको चीनी आयात गरि उपभोक्ताहरूलाई सहुलियत दरमा चीनी बिक्री गर्ने गर्दथ्यो । तर यसपाली भने अर्थ मन्त्रालयले भन्सार छुटमा चीनी आयात गर्ने स्वीकृत दिएन।

जसका कारण एकातिर बजारमा चीनीको मूल्य बढयो भने अर्कोतिर गुणस्तरीय चीनीको अभाव पनि भयो। बजारमा चीनीको हाहाकार समेत भयो। भाटभटेनी सुपरमार्केटले १५० रूपैयाँ मूल्य समेतमा चीनी बिक्री गरयो। कोरोनाको कारण व्यापार कम हुँदा पहिलो त्रैमासिकमा मुनाफा घटन गएको कर्पोरेसन स्रोतले बताएको छ।