back
stc
prabhu insurance

नेपाल टेलिकमको नाफा ४८.९प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ अर्ब २५ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको जनाएको छ । कम्पनीको आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा ४८.९ प्रतिशतले बढी रहेको जनाएको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आय १३।२ प्रतिशतले बढेर ९ अर्ब ७७ करो रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको सञ्चालन आय ८ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो। प्रथम त्रैमासमा कम्पनीको कुल आय ८.३९ प्रतिशतले बढेर १० अर्ब ९५ करोड रुपैयाँ भएको छ । जुन गत वर्ष यही अवधिमा १० अर्ब १० करोड रुपैयाँमा सीमित कम्पनीले जनाएको छ ।

यसैगरी कम्पनीको EBITDA २१.२८ प्रतिशलते बढेर ४ अर्ब ८१ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा EBITDA ३ अर्ब ९७ करोड रुपैयाँमात्र थियो। गत वर्षको तुलनामा यो वर्षको प्रथम त्रैमासिकमा कम्पनीको आर्थिक स्वास्थ्य सकारात्मक हुनुका प्रमुख कारणहरु निम्म रहेको पाइएको छ।

१, फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको।

२, यसैगरी टुजी तथा थ्रीजी सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत टुजी, थ्रीजी र फोरजी सेवाको पहुँच विस्तार गरिएकाले ग्राहक आधार वृद्धि हुन गएको छ ।

३, कम्पनीको एफटीटीएच सेवाप्रति ग्राहकको आकर्षणमा वृद्धि भई एफटीटीएच मार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आईपीटीभी सेवाका ग्राहकहरु वृद्धि हुन गई फिस्क्ड नेटवर्थबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको छ।

४, मुलुक तथा विश्वव्यापी रुपमा कोभिडविरुद्धको खोप कार्यक्रम पश्चात कोभिडको महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको संकट चालु आ. व. को शुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको छ।

५, कोभिडको महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलब्ध गराइएको हुँदा सोबाट प्रत्यक्ष रुपमा राजश्व वृद्धि हुने अवस्था नरहेता पनि कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाहरुप्रति ग्राहकवर्ग आकर्षित हुन सकेको तथा सोही कारणले सेवा उपयोगमा वृद्धि भएको छ।

६. कोभिड महामारी, अन्तर्राष्ट्रिय यात्रा सहज नभइसकेको वास्तविकता तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहे पनि अनलाइन व्यवसाय, अनलाइन कक्षा, सोसल नेटवर्किङ, इन्टरनेट बेस्ड इन्टरटेन्टमेन्ट आदिमा भएको वृद्धिका कारणले कम्पनीको भ्वाइस सेवा, डाटा सेवा र एसएमएस सेवामा गत आ.व.को प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) को तुलनामा चालु आ.व.को सोही अवधिमा सुधार आई क्रमशः करिब ७ प्रतिशत, १५ प्रतिशत र ३३५ प्रतिशतले वृद्धि भएको छ।