back
stc
prabhu insurance

२७औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएमई पे

काठमाडौँ । वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको आइएमईपे क्यान इन्फोटेक २०२२ मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई रहेकोपे छ । हालै राजधानी काठमाडौँमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुराको जानकारी दिइएको हो ।

सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धि देशको एकमात्र प्रदर्शनी (Exhibition) को यो २७औँ संस्करण यसअघि कोभिड– १९ कारण नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको थियो । विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौँमा मात्र हुने भएको हो ।

विगत वर्षहरूमा आयोजना हुन नसकेका कारण पनि यो पटक सम्बन्धित सरोकारवालाहरूमा प्रदर्शनीप्रति उत्साह देखिएको छ । आयोजनाले कोभिड– १९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ ।

ब्राण्डिङ खण्डमा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनी एवम् उत्पादनहरूको सहभागिता रहनेछ ।

फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवम् सम्बन्धित संस्थाहरूको सुचना तथा संचार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धि उत्पादनहरू रहने छन । स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी गर्ने छन् ।

इन्नोभेशनका निम्ति क्यान महासंघ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति क्यान महासंघले सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरूबाट छनौट गरिसकिएको छ ।

सुचना तथा संचार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरूको प्रवद्र्धन गर्ने आफ्नो योजनानुरुप क्यान महासंघले स्टार्टअप र इन्नोभेशनलाई बिशेष प्राथमिकतामा राखेको हो ।

सूचना प्रविधि सम्बन्धि अध्ययन एवम् कार्य गरिरहेका विद्यार्थीहरूको क्षमता विकास गर्नु, उनीहरूको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहारपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य हो ।

आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने छन् ।

यस बाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, वाइफाइ तथा इण्टरनेट लगायतका कुराहरू रहनुका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम सोल्युशन, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरू प्रदर्शनी तथा विक्रिमा राख्नेछन् ।

त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् ।

प्रर्दशनीमा टिकटक प्याभिलिअन, अम्ब्रेला स्ट्रिट रहनुका साथै यो प्रर्दशनी सुचना प्रविधि सम्बन्धि चासो राख्नेहरूको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने थलो पनि हुने बिश्वास लिइएको छ ।

साथै, महामारी तथा बन्दाबन्दीका बेलामा देखिएको सूचना तथा संचार प्रविधिको अपरिहार्यताले सम्वन्धित सम्पूर्ण सरोकारवालाहरूलाई यस क्षेत्रप्रति थप आकर्षित गरेको हामी सबैले महशुस गरेका छौं ।त्यसैले पनि यो वर्षको क्यान इन्फोटेक अझ विशेष हुने हाम्रो अपेक्षा छ ।

क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रुपमा सहभागिता हुनसक्ने गरि caninfotech2022.com मार्फत भर्चुअल प्रदर्शनी (Virtual Exhibition) समेतको ब्यबस्था हुन गइरहेको छ ।

क्यान इन्फोटेक २०२२ मा विभिन्न खण्डहरू जस्तैः ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ र इ–गभर्नेन्स मुख्य हुनेछन् ।
अघिल्लो पटक करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा सोभन्दा बढी संख्यामा अवलोकनकर्ता आउने हामीले अपेक्षा गरिएको छ ।

यस पटकको इन्फोटेक पेपरलेस एवम् क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिने छ, जसमा प्रवेश शुल्क जम्मा रू १ मात्र तोकिएको छ भने उक्त प्रवेश टिकटलाई आइएमई पेले व्यवस्थापन गर्नेछ ।