back
hangrilabank
himalayanlife
stc

आइपीओमा सानिमा लाइफ इन्स्योरेन्सको नयाँ रेकर्ड

काठमाडौं । आइपीओमा सानिमा लाइफ इन्स्योरेन्सको आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।

यसमा हालसम्मकै उच्च २४ लाख १९ हजार १२७ जना लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार अन्तिम दिनसम्ममा ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको छ ।

यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको कुल ५४ कित्तालाई आधार मान्दा ६.८४ गुणा बढी आवेदन हो । यसअघि युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा हालसम्मकै उच्च २१ लख ७२ हजार ८६८ जनाले आवेदन दिएका थिए । सानिमा लाइफले यसलाई पनि पछि पारेको छ ।

१८ लाख ७९ हजार जना आइपीओ पाउनबाट बञ्चित

यता, सानिमा लाइफको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नु पर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा २४ लाख १९ हजार १२७ जना आवेदकबाट कुल ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ५४ लाख कित्तालाई आधार मान्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १८ लाख ७९ हजार १२७ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

सानिमा लाइफले साउन २० गतेदेखि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ५४ लाख कित्ता आइपीओमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । कम्पनीले कर्मचारीलाई ३ लाख (५ प्रतिशत) कित्ता सेयर र म्युचुअल फन्डलाई पनि ५ प्रतिशत ले हुने ३ लाख कित्ता नै सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको हो ।

सानिमा लाइफको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ ।

यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।