back
stc
prabhu insurance

बिमा समितिले हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई मर्ज हुन अन्तिम स्वीकृति दियो

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई एक आपसमा मर्ज हुन बिमा समितिले अन्तिम स्वीकृति दिएको छ । बिमा समितिले हिमालयन जनरल र एभरेष्टलाई (१००ः०.८५) सेयर अनुपातमा मर्ज हुन स्वीकृति दिएको हो ।

यो सँगै दुई कम्पनीको मर्जर प्रकृया अघि बढेको छ । यता, दुवै कम्पनीको असार २ गते बसेको विशेष साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ । एक आपसमा मर्ज हुने भएपछि हाल दुवै कम्पनीको सेयर कारोबार रोक्का छ ।

यी दुई कम्पनीहरुबीच गएको वैशाख २२ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । हाल एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड र हिमालयन जनरल इन्स्योरेन्सको १ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।

यी बिमा कम्पनीले बिमा समितिले तोकिएको पुँजी पुर्याउनका लागि मर्जरको बाटो रोजेका हुन् । बिमा कम्पनीबीच यो पहिलो मर्जर सम्झौता पनि हो ।

समितिले निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब रुपैयाँबाट बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याएको छ ।