आज आइएमई लाइफ इन्स्योरेन्स र हिमाल दोलखा हाइड्रोपावरले साधारण सभा बस्दै

काठमाडौं । आज जेठ २८ गते सोमबार २ कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । यसदिन आइएमई लाइफ इन्स्योरेन्स र हिमाल दोलखा हाइड्रोपावरले साधारण सभा बोलाएका हुन् ।
आइएमई लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको हो भने हिमाल दोलखाले लाभांश बिना नै साधारण सभा बोलाएको हो ।
आइएमई लाइफ इन्स्योरेन्सको सभा आम्रपाली ब्यांकेट क्याटरिङ एन्ड इभेन्ट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३१ प्रतिशत नगद लाभांश गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेन्डा पनि छ । यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
यता, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १३ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
हिमाल दोलखा हाइड्रोपावरको साधारण सभा केएम ब्यांकेट, सहयोगिनगर, कोटेश्वर, काठमाडौंमा बिहान ९ः३० बजे सुरु हुनेछ । यसले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । कम्पनीले यसअघि गत चैत २९ गते गणपूरक संख्या नपुगेपछि सभा स्थगित गरिएको थियो ।
आज कम्पनीको एकैसाथ २ आर्थिक वर्षको वार्षिक साधारण सभा बस्दैछ । साधारण सभामा आर्थिक वर्ष २०७८/०७९ र २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
साधारण सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ । यता, सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते बुक क्लोज गरिसकेको छ । चैत १७ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
वि.सं.२०८१ जेठ २८ ०६:५७