back
stc
prabhu insurance

बिआरआईलाई चुनौती दिने जि सेभेन राष्ट्रको घोषणा

एजेन्सी । चीनको बेल्ट एन्ड रोड (बीआरआई) परियोजनालाई चुनौती दिन धनी राष्ट्रहरूको समूह जी सेभनले ६ सय अर्ब अमेरिकन डलर परिचालन गर्ने भएको छ ।

अघिल्लो वर्ष ब्रिटेनमा भएको जी सेभनको वार्तामा घोषणा गरिएको विश्वव्यापी पूर्वाधार र लगानीसम्बन्धी साझेदारीलाई कार्यान्वयन गर्ने निर्णय पुनः गरिएको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त योजनाले सबैलाई लाभ हुने बताएका छन ।

उक्त योजनाले जी सेभनका नेताहरूलाई मध्यम तथा न्यून आय भएका देशहरूमा पूर्वाधार परियोजनाका लागि पाँच वर्षमा ६ सय अर्ब डलर जुटाउन भनिएको छ ।

अमेरिकाले २०० अर्ब डलर अनुदान, सङ्घीय कोष र निजी लगानीमार्फत् उपलब्ध गराउने वाचा गरेको छ भने युरोपेली संघले थप ३०० अर्ब यूरो दिने भनिएको छ ।

यो अभियानले जलवायु परिवर्तनका प्रभावसँग संघर्ष गर्न, विश्वव्यापी स्वास्थ्य सुधार, लैङ्गिक समानता र डिजिटल पूर्वाधार निर्माणमा सघाउने लक्ष्य राखेको छ ।

प्राथमिकता दिइएका केही परियोजनामा एङ्गोलामा एउटा सौर्य ऊर्जा परियोजना, सेनिगलमा खोप उत्पादन केन्द्र निर्माण र इजिप्ट र होर्न अफ अफ्रिकाहुँदै सिङ्गापुर र फ्रान्सलाई जोड्ने १६०९ किलोमिटर दूरसञ्चार केबल बिच्छ्याउने पनडुब्बी आदि योजना समेटिने छन।

यो अभियानलाई चीनको महत्त्वाकांक्षी बीआरआई परियोजनालाई चुनौती दिने उपायका रूपमा प्रस्तुत गरिँदै आएको छ ।

सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी जिनफिङले घोषणा गरेको बीआरआईले उदीयमान देशहरूलाई बन्दरगाह, विमानस्थल,सडक र पुलजस्ता पूर्वाधार निर्माणका लागि सहयोग गर्दै आएको छ ।