back
stc
prabhu insurance

‘बगैंचामा व्यस्त रहँदा मानसिक स्वास्थ्य सबल हुन सक्छ

एजेन्सी। बोटबिरुवा वा फूलपात लगाएर बगैंचामा आफूलाई व्यस्त तुल्याउँदा मानसिक स्वास्थ्य सबल हुन सक्ने सुझाव हालै गरिएको एउटा नयाँ अनुसन्धानले दिएको छ ।

बगैंचामा पहिले कहिल्यै काम नगरेकाले पनि बिरुवासँग काम गर्दा मानसिक स्वास्थ्यलाभ गर्न सक्ने फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानले देखाएको हो ।

प्लोस वान जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार फूलबारी वा बगैंचामा आफूलाई व्यस्त राख्दा तनाव, चिन्ता र मानसिक चिन्ता कम हुनेछ । अनुसन्धानका क्रममा वैज्ञानिकले सहभागी गराएका अस्वस्थ महिलामा मानसिक चिन्ता अति कम भएका पाए ।

साताको दुईपटक बगैंचा वा फूलबारी सम्बन्धी गतिविधिमा सरिक भएका २६ देखि ४९ वर्षका ३२ महिलामाथि गरिएको अध्ययनले उनीहरू चिन्तामुक्त भएको देखायो । अध्ययनमा सहभागी गराइएका महिलाले यसअघि फूलबारी वा बगैंचामा काम गरेका थिएनन् ।

विगतका अध्ययनले पनि बगैंचामा काम गर्दा विद्यमान चिकित्सा अवस्था वा चुनौती भएका व्यक्तिको मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गरेको थियो । पछिल्लो अध्ययनले पनि स्वस्थ मानिसले बगैंचा वा फूलबारीमा काम गर्दा मानसिक स्वास्थ्यलाभ पाउन सक्ने अध्ययनका प्रमुख अन्वेषक चाल्र्स गायले बताएका छन् ।

अनुसन्धानमा सहभागीमध्ये आधालाई बगैंचाको काम तोकिएको थियो भने आधालाई कला–निर्माणका काममा खटाइएको थियो । दुवै समूहले एकअर्कालाई हप्तामा दुईपटक मात्र भेटेका थिए ।

उनीहरूको व्यवहार, बोलीचाली, आफू सम्बद्ध समूहका अनुभव र अध्ययनको तर्कपूर्ण प्रस्तुतिले मानसिक रूपमा स्वास्थ्यमा समान सुधार आएको पाइयो । उनीहरूमा रचनात्मक ढंगले काम गर्ने, काममा रमाउने, फूल तथा बोटबिरुवा योजनाबद्ध रूपमा लगाउनेजस्ता सकारात्मक सोचको विकास भएको पनि पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।