back
stc
prabhu insurance

भारतीय अर्बपति गौतम अडानी सहित सात जना विरुद्ध न्यूर्योकको अदालतमा मुद्दा

न्यूयोर्कको सङ्घीय अदालतले भारतीय अर्बपति तथा विश्वकै सबैभन्दा धनिमध्येका एक गौतम अडानीसहित सात जनालाई अढाई करोड डलरको ठगी र घूसखोरीको आरोप लगाएको छ ।

अभियुक्तहरूमा सागर र विनीत जैन, अदानी ग्रीन एनर्जी लिमिटेडका अधिकारीहरू र गौतम अदानीका भतिजाहरू पनि रहेका छन् ।

संयुक्त राज्य अमेरिकाको अभियोजकको कार्यालयबाट जारी भएको प्रेस विज्ञप्तिअनुसार अडानीले सौर्य ऊर्जाको ठेक्का प्राप्त गर्न भारतीय अधिकारीहरूलाई २ करोड ५० लाख डलरभन्दा धेरै घूस दिने वचन दिएका थिए ।

अमेरिकी न्याय विभाग अनुसार, उनीहरुले भारतमा घूस दिएर परियोजना माग गरेको र विदेशी लगानीकर्ता तथा बैंकलाई झुट बोलेको पाइएको छ । अडानीले पूर्ण योजना बनाएर अनुसन्धानमा बाधा पुर्‍याउने प्रयास गरेको पनि आरोपमा उल्लेख छ ।

सन् २०२० देखि २०२४ सम्म, अडानीसहित सबै अभियुक्तहरू भारत सरकारको सौर्य ऊर्जा सम्झौता प्राप्त गर्न भारतीय अधिकारीहरूलाई २ करोड ५० लाख डलरको घूस दिन इच्छुक थिए । परियोजनाबाट २० वर्षमा सबै कर कटाए पनि २ अर्ब डलरभन्दा धेरै नाफा अनुमान गरिएको खबरमा उल्लेख छ ।

अडानीले व्यक्तिगत रूपमा भारत सरकारका एक अधिकारीलाई भेटेर योजनालाई अगाडि बढाएका थिए । अदालतका अनुसार अडानी समूहले घूसको यो अभियोजन रोक्नको लागि ग्रान्ड जूरी, एफबीआई र अमेरिकी सेकुरिटी एण्ड एक्सचेन्ज कमिशन ९एसईसी० को अनुसन्धान रोक्न षड्यन्त्र रचेका थिए ।

अडानी ग्रीन एनर्जीले सम्झौताअन्तर्गत अमेरिकी लगानीकर्ता र अन्तर्राष्ट्रिय ऋणदाताहरूबाट कुल ३ अर्ब डलर सङ्कलन गरेको थियो । त्यसैले भारतमा घूस दिन खोजे पनि उनीहरुमाथि अमेरिकी कानुनसमेत आकर्षित भएको हो ।

गौतम अडानीका भतिजा सागर अडानीले अमेरिकाको ब्राउन विश्वविद्यालयबाट अर्थशास्त्रमा डिग्री हासिल गरेका छन् ।