back
prabhu insurance
himalayanlife

रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै

ललितपुर । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरिँदैछ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको रथयात्रा यसपालि भने हुन लागेको हो ।

आज बेलुका पुल्चोकबाट रथ तानेर गाःबहाल पुर्‍याइने छ । आज गाःबहालका स्थानीयबासिन्दाले पर्वकै रुपमा आज भुज्याः मनाउँदछन् ।

वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ अहिले पुल्चोकमा राखिएको छ । पुल्चोकमा निर्माण गरिएको रथमा गएको आइतबार रातो मच्छिन्द्रनाथलाई रथारोहण गरेसँगै हेरक दिन दर्शनार्थीको भीड बढेको छ ।

पुल्चोकमा देवताको दर्शन गर्ने, बत्ती बाल्न आउने भक्तजनको घुइचो लाग्ने गरेको छ । दर्शनार्थीको भीड बढेसँगै पुल्चोक हुँदै चल्ने गाडीलाई आज पनि डाईभर्सन गरिएको छ ।

जावलाखेल –पुल्चोक हुँदै चल्ने गाडीलाई झम्सिखेलबाट डाईभर्सन गरी कानदेवता थान निस्कने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ।

नेपालकै लामो जात्रा मानिने मच्छिन्द्रनाथको जात्रा कोरोना भाइरसको महामारीका कारण अघिल्ला दुई वर्ष सांकेतिक रुपमा मात्र गरिएको थियो भने यसवर्ष विगतमा झैं रथलाई पाटनको विभिन्न ठाउँमा तानेर सञ्चालन गर्न लागेको हो ।