back
stc
prabhu insurance

कोरोनाबाट पत्रकार जोखिममा : १९ पत्रकारको मृत्यु

काठमाडौं । राज्यको चौंथो अंगका सञ्चार जगत कोरोनाको दोस्रो प्रहारले अस्तव्यस्त बनेको छ । फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरू कोरोनाको उच्च जोखिममा रहेका छन् भने धेरै संञ्चार गृहहरू आर्थिक संकटबाट गुज्रिरहेका छन् ।

नेपालमा हालसम्म कोरोनाका कारण १९ पत्रकारको मृत्यु भइसकेको छ । यसैगरि ९ सय भन्दा बढी पत्रकार संक्रमित बनेको तथ्यांक नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको छ।

यद्यपि वास्तविक संख्या योभन्दा धेरै ठूलो हुन सक्छ । २ सय सक्रिय संक्रमितमध्ये ४० जना विभिन्न अस्पतालमा रहेकोका र ५ जना आईसीयूमा उपचार गराइरहेका छन् ।

निजी रेडियोहरुको छाता संस्था ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)  का अध्यक्ष तथा इटहरीस्थित सप्तकोशी एफएमका सञ्चालक चन्द्रप्रसाद न्यौपानेले पनि कोरोना संक्रमणबाट ज्यान गुमाए । विराटनगरको बिराट मेडिकल कलेजमा उपचाररत न्यौपानेको ५० वर्षको उमेरमा गत जेठ १४ गते मृत्यु भएको थियो । उनी सरकारद्वारा गठित विज्ञापन बोर्डका सदस्य समेत थिए ।

अन्नपुर्ण दैनिकमा कार्यरत दोलखाका पत्रकार रविन्द्र गौतमको गत जेठ १६ गते मृत्यु भयो । स्वास्थ्य अवस्था बिग्रिएपछि दोलखाबाट हेलिकोप्टरमा काठमाडौं ल्याएर उपचार गरिए पनि उनको ज्यान बचाउन सकिएन ।

डेढ दशकदेखि स्वतन्त्र पत्रकारिता गर्दै आएका पाचँथरका एकराज भण्डारीको १५ गते मृत्यु भयो । उनी पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष समेत थिए । झापाको विर्तासिटी अस्प्तालमा उनको मृत्यू भएको थियो ।

विभिन्न पत्रिकामा साहित्यिक पत्रकारिता गर्दै आएका धनुषाका पत्रकार माधव आर्चायको गत जेठ ८ गते कोरोना संक्रमणका कारण मृत्यु भयो ।

रेडियो नेपालमा कार्यरत खोटाङका कृष्णप्रसाद ओझाको कोरोना संक्रमणका कारण गत जेठ ७ गते ५४ वर्षको उमेरमा मृत्यु भएको थियो । रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोना संक्रमणका कारण ६० वर्षको उमेरमा गत जेठ ५ गते निधन भएको थियो । उनी रेडियो लुम्बिनीमा कार्यरत थिए ।

महासंघले पत्रकारहरुको श्रम समस्या समाधान गर्नुका साथै कोभिड १९ को सतर्कताका लागि विभिन्न स्वास्थ्य सुरक्षा सामग्री र आर्थिक समस्यामा परेकाहरूलाई खाधान्न र नगद सहयोग वितरण गरिरहेको महासंघका महासचिव रोशन पुरीले बताएका छन । पुरीका अनुसार पत्रकारहरुलाई ४५ हजारभन्दा बढी मास्क, स्यानिटाइजर वितरण गरिएको छ भने केन्द्रिय कार्यालयमा ५ बेडको अक्सिजनसहितको बेडहरु तयार गरि सञ्चालनमा आएको छ ।

दाङका ३२ वर्षीय पत्रकार लक्ष्मण बस्नेतको गत जेठ ५ गते निधन भएको थियो । दाङको रेडियो हापुरेमा स्टेसन मेनेजरका रुपमा काम गरेका बस्नेत पछिल्लो समय सोही रेडियोको सञ्चालक समिति सदस्य थिए ।

जनता टाइम्स अनलाइनका सम्पादक तथा सौर्य दैनिकका सहसम्पादक शान्तिराम कार्कीको गत जेठ २ गते मृत्यु भएको थियो । उनी नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठानका अध्यक्षसमेत थिए । ३४ वर्षिय कार्कीको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

कास्कीका पत्रकार गणेश पौडेलको गत बैशाख ३० गते कोरोना संक्रमणका कारण ज्यान गएको थियो । उनी गण्डकी टेलिभिजनमा निर्देशकको रुपमा कार्यरत थिए । यसैगरि रौतहटको रेड टेलिभजनकी अध्यक्ष रमादेवी यादबको २९ वर्षको उमेरमा कोरोना संक्रमणका कारण मृत्यु भयो । उनको जिल्ला अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको थियो।

नागरिक दैनिकमा कार्यरत मुगुका सुमन मल्लको गत बैशाख ३० गते मृत्यु भएको थियो । ४२ वर्षका उनी मधुमेह र उच्च रक्तचापका कारण दुई वर्षदेखि थलिएका थिए । आर्थिक अभावका कारण राम्रो उपचार नपाएर उनको मृत्यू भएको थियो।

रौटहटको मधेश एफएमका स्टेशन म्यानेजर तथा ‘जनकपूर टुडे’का सम्वाददाता मनोज चौधरीको उपचारको क्रममा गत बैशाख २९ गते मृत्यु भएको थियो । उनको १२ दिनअघि कोरोना पुष्टि भएको थियो ।

सि पोष्ट न्युज डट कमका सम्पादक तथा प्रकाशक दिनेश दाहालको गत वैशाख २५ गते कोरोना संक्रमणका कारण ज्यान गयो । यसअघिको भेरियन्टमा पनि ६ जना पत्रकार तथा पूर्वपत्रकारले ज्यान गुमाएका थिए ।

त्यसबेला कोरोना संक्रमणबाट मृत्यू हुनेहरुको नाम आधिकारिकरुपमा खुलाइएको थिएन । त्यसैले पहिलो लहरमा ज्यान गुमाउनेहरुको नाम अहिले पनि महासंघले सार्वजनिक गरेको छैन ।

मृत्यू भएका पत्रकारका परिवारले केही संघ(संस्थाबाट सानोतिनो सहयोग पाए पनि अन्य उल्लेख्य राहत तथा क्षतिपूर्ति प्राप्त भएको छैन । प्रदेश २ सरकारले भने आफ्नो प्रदेशका दुई पत्रकार रमादेवी र मनोजका परिवारलाई ५१ हजार रुपैयाँका दरले राहत प्रदान गरेको थियो ।

सूचना तथा सञ्चार मन्त्रालयले संक्रमण संक्रमणबाट मृत्यु भएकाहरुको परिवारलाई क्षतिपूर्ति दिने सम्वन्धमा कुनै निर्णय नभएको बताएको छ । यद्यपि यो विषय छलफलमा रहेको मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले बताएका छन ।

राहतदेखि उपचार र क्षतिपूर्ति दिने गृहकार्य हुदैछ तर निर्णय भएको छैन । थप केही गर्नुपर्ने भएकाले छलफल गरिहेको छ । यश विषयमा मन्त्रालय सम्वेदनशील रहेको मन्त्रालयका अधिकारीहरू बताउछन।

सरकारले निषेधाज्ञाका बीच पनि सञ्चारगृह सञ्चालनको अनुमति दिएको छ । सूचना विभागको प्रेस पास देखाएर पत्रकारहरुले सवारीसाधन प्रयोग गर्न पाउँछन् ।

यद्यपि धेरै सञ्चार गृहहरुले न्यून संख्यामा कर्मचारी कार्यालय राखेर अरुलाई घरबाटै काम गराउदै आएको छ।अघिल्लो लकडाउनमा ठूलो संख्यामा पत्रकारलाई सम्वन्धित सञ्चारगृहले बेतलबी बिदामा राखेका थिए भने कतिपयलाई दीर्घकालीन रुपमै जागिरबाट निकालेका थिए । धेरै सञ्चारगृहले पत्रकार–कर्मचारीको तलब कटौति पनि गरेका थिए ।

यसपाली पनि निषेधाज्ञा लम्बिँदै गयो भने फेरि त्यही अवस्था आउने चिन्ता पत्रकारहरुमा छाएको छ । महासंघले पछिल्लो एक वर्षमा कोरोनाले सञ्चार माध्यममा परेको प्रभावको बारेमा अध्ययन गरेको थियो ।