back
stc
prabhu insurance

सर्वोत्तम सिमेन्टले बोलायो  असार १० गते विशेष साधारण सभा

काठमाडौं । बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले असार १० गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १९.११८प्रतिशत बोनस सेयर र कर तिर्न १.००६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बोनसपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार सेयरधनीहरुको पुँजी अनुपात मिलान गर्ने प्रस्ताव पनि सभामा लैजाने छ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ । विशेष सभा काठमाडौं तिनकुनेस्थित न्यौपाने टावरको  हलमा बिहान ११ बजे सुरु हुनेछ । सर्वोत्तम सिमेन्टको हाल चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ छ । सोही पुँजीको १९.११८ प्रतिशत अर्थात ६५ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्न लागेको हो । प्रस्तावित बोनस वितरण भएमा सर्वोत्तमको चुक्ता पुँजी ४ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

यता, कम्पनीको माघ ६ गते सम्पन्न साधारण सभाले बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइने कम्पनीले जनाएको छ ।

बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासी, ३ लाख कित्ता कर्मचारी र २५ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वोत्तम सिमेन्टको रेटिङ पनि सम्पन्न भइसकेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी–आइआर त्रिपल बी प्लस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा कम्पनीको अवस्था मध्यम रहेको जनाउँछ । सर्वोत्तम सिमेन्टले प्रतिकित्ता सेयरको मूल्य ७५० रुपैयाँ निर्धारण गरेको छ । यो कम्पनीको आन्तरिक मूल्यांकन हो । बुक बिल्डिङ विधिका विभिन्न चरण पार गरी अन्तिममा आइपीओ जारी गर्न स्वीकृत मूल्य फरक पर्न सक्छ ।