मेलम्ची आएपछि पानी उद्योग संकटमा

काठमाडौं । अढाई महिनाअघिदेखि काठमाडौंको धारामा मेलम्चीको पानी खस्न थालेपछि काठमाडौंवासीले राहत पाए । तर, हरेक विकासले एउटा सानो समूहलाई नकारात्मक प्रभाव पार्छ । काठमाडौंमा ट्यांकर, जार र बोतलबाट पानी बेचिरहेका व्यवसायी भने मेलम्चीको खानेपानी आएपछि संकटमा पर्न थालेका छन् ।
सिन्धुपाल्चोकको मेलम्ची मुहानबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहेको थियो। भोली असार १ गतेबाट सुरुङको परीक्षण गर्न केही दिनका लागि पानी वितरण रोकिने भएको छ । गत २०७७ चैत १५ देखि काठमाडौं उपत्यकाका अधिकांश बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न थालेका छन् । यसअघि ट्याङकर वा जारको पानी किनेर खानेहरुका लागि अहिले त्यो वाध्यता टरेको छ ।
रिङरोड भित्रका प्रायः घरहरुमा मेलम्चीको पानी वितरण भइरहँदा यता ट्याङकर र जारबाट हुने पानीको विक्री वितरण भने ह्वातै घटेको छ । मेलम्चीको पानी आएपछि काठमाडौंमा ट्यांकर र जारको माग आधा घटेको खानेपानी उद्यमी तथा व्यवसायी संघका अध्यक्ष उज्वल शाक्यले लकडाउनका कारण पनि पानीको व्यवसाय प्रभावित भएको बताएका छन् ।
अत्याधिक पानी खपत हुने कार्यालयर होटलहरु बन्द हुँदा माग धेरै घटेको छ । ट्यांकरको पानीको माग सिजन अनुसार घटबढ हुने गर्छ । सामान्यतया हिउँदमा ट्यांकरको पानीको आपूर्ति ह्वातै बढ्छ ।
असोजदेखि जेठसम्मलाई सिजनका रुपमा र असारदेखि भदौसम्म अफ सिजनका रुपमा लिइन्छ । असार लागेपछि ट्यांकरको पानीको माग स्वत घट्ने गरेको थियो । तर यसपटक बैशाखदेखि नै माग ह्वात्तै घटेको छ,’ शाक्यले बताए ।
वर्षौंदेखि काठमाडौंमा पानी अभाव ट्याङ्करको पानीबाट आपूर्ति गर्दै आएको थियो । ट्यांकरले हिँउदमा दैनिक ३ देखि ४ करोड लिटर र बर्खामा दुईदेखि साढेदुई करोड लिटर पानी वितरण गर्छन । यसपाली भने चैत(बैशाखमा पनि पानीको अभाव भएन ।
चैत १५ देखि नियमितरुपमा मेलम्चीको पानी वितरण हुन थालेपछि सिजनमै ट्यांकरको पानीको माग घट्यो । २०७७ चैतयता दैनिक १ देखि २ करोड लिटर पानी मात्रै ट्यांकरबाट आपूर्ति भएको छ । एउटा ट्यांकरले दैनिक ९ देखि १० खेप पानी आपूर्ति गर्दै आएकोमा अहिले ३ देखि ४ टिप पनि मुस्किलले पाउने गरेको छ ।
पहिला मनसुनमा पनि पानीको माग घटेको थियो । तर अहिले मेलम्चीले गर्दा धेरै घटेको छ। मेलम्ची आएको एक महिनामै ट्यांकरको पानीको माग ३० प्रतिशत घटेको पाइन्छ । सुरुमा सबैतिर पानी पुगिसकेको पनि थिएन । अहिले काठमाडौ उपत्यका खानेपानी लिमिटेडले धेरैजसो ठाँउहरुमा पानी पठाइसकेको छ ।
मनसुन सकिएपछि पानीको मुहानहरु सुक्न थाल्छन् । त्यो समयमा मेलम्चीको पानीले सर्वसाधरणको मागलाई कति धान्न सक्छ त्यो हेरेपछि ट्यांकरको व्यवसाय कति प्रभावित हुन्छ भन्न सकिने अवस्था छ ।
पानीको आपूर्ति घट्ने भएकाले व्यवसायीहरु असारदेखि भदौसम्मलाई अफसिजन मान्छन् । तर यसपटक भने असार–साउनमा पानीको माग चैत बैशाखमाभन्दा बढी आउन सक्ने छ । किनभने मेलम्चीको सुरुङ परिक्षण गर्नुपर्ने भएकाले सुरुङ खाली गरेर निरीक्षण गर्न दुई महिना लाग्ने भनिएको छ । असार १ गतेदेखि काठमाडौंमा पानी वितरण रोकिँदा ट्यांकरको पानीको आपूर्ति बढ्नेमा व्यवसायी आश्वस्त छन् ।
काठमाडौंमा मेलम्चीको पानी आपूर्ति बन्द हुँदा ट्यांकरको पानीको माग बढ्न सक्ने आंकलन व्यवसायीहरूले गरेका छन् । त्यो बेलामा पानीको एकदमै हाहाकारको अवस्था हुन सक्छ ।
शहरको पुरानो वितरण लाइनमा केयुकेएलले मेलम्चीको पानी जोडिसकेको छ । मेलम्चीको पानी बन्द हुने अवधिमा नयाँ वितरण लाइन भत्काएर पुरानैबाट वितरण गर्नुपर्ने हुन्छ । तर दुई महिनाको लागि केयुकेएलले नयाँ वितरण लाइन भत्काएर पुरानो लाइन जोड्न सम्भव नहुने हुँदा केयूकेएलले कसरी पानी वितरणको व्यवस्थापन गर्छ हेर्न बाँकी छ । त्यो केयूकेएलको वितरण व्यवस्थापनमा भर पर्ने कुरा हो ।
अहिले देशभर एक हजार ट्याङकरहरु सञ्चालनमा छन् । ट्यांकर व्यवसायसँग झण्डै २ हजार मजदुर जोडिएका छन् । मेलम्चीको पानी आइसकेपछि धेरैलाई ट्याङकर व्यवसायमा टिक्न गाह्रो हुने अवस्था छ । विस्तारै यो समस्या झनै बढ्ने छ ।
धेरैजसोले ऋण लिएर व्यवसाय गरेका हुन्छन् । कसैको वैकल्पिक व्यवसायको रुपमा पनि सञ्चालन भइराखेको छ । अब यसले स्वरोजगारहरुलाई सिधै असर गर्छ । आम्दानी ३० प्रतिशतमा झर्ने वित्तिकै व्यवसायमा टिक्न गाह्रो पर्छ । यश क्षेत्रका धेरै व्यवसायी अझै पर्ख र हेरकै अवस्थामा रहेका छन् । अहिले तत्काल व्यवसाय छोडेको अवस्था छैन । तर केहीले वैकल्पिक रुपमा अर्को काम खोज्न थालिसकेका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ट्याङकर व्यवसायीहरुलाई विस्तारै वैकल्पिक व्यवसाय खोज्न आग्रह गरेको छ । दुई वर्षभित्र वैकल्पिक व्यवसायमा जान केयूकेएलले सुझाएको अध्यक्ष शाक्य बताउछन।
अहिले ट्यांकरको पानीको माग विशेषगरी रिङरोड बाहिरका वस्तीहरुबाट आइरहेको छ । शहरभित्र भने माग शून्यजस्तै भइसकेको छ । रिङरोड बाहिर पनि घरहरु बनिसकेका छन् । तर ती एरियाहरुमा खानेपानीको पाइपलाइन पुगेको छैन ।
मेलम्चीको पानी त्यता नपुग्दा पानीको माग अहिले ती क्षेत्रबाट मात्रै आइरहेको व्यवसायीहरू बताउछन् । घरायसी प्रयोजनको लागि मेलम्चीको पानीले पुगे पनि विजनेश, अस्पतालहरुमा मेलम्चीले पनि नपुग्ने भएकाले ट्यांकरको पानी प्रयोग हुनेछ । मेलम्चीको पानीवितरणको लागि पुरानो पाइपलाइनबाट भइरहेको छ ।
केयुकेएलका पदाधिकारीका अनुसार अब नयाँ पाइपलाइनबाट पानी सूचारु गर्नको लागि डेढदेखि २ वर्ष लाग्न सक्ने अनुमान गरेका छन् । मेलम्चीले ट्याङ्कर व्यवसाय संकटमा परेसगै जारको पानी बेच्नेहरुलाई पनि प्रभाव परेको छ । जार उधोग पनि डुव्ने अवस्थामा छन्।
वि.सं.२०७८ जेठ ३१ २०:५४