back
stc
prabhu insurance

आगामी २०७८ साउन २६ देखि असोजसम्म राष्ट्रिय जनगणना गरिने

महामारीमा कमि आएसँगै तथ्यांक विभागले जनगणनाका लागि नयाँ तिथि प्रस्ताव

काठमाडौं । कोभिडको कारण स्थगित भएको राष्ट्रिय जनगणना आगामी २०७८ साउन २६ देखि असोज ८ गतेभित्रमा सम्पन्न गर्न गृहकार्य सुरु गरिएको छ । महामारीमा कमि आएसँगै तथ्यांक विभागले जनगणनाका लागि नयाँ तिथि प्रस्ताव गरेको छ ।

विभागका जनगणना प्रमुख ढुण्डीराज लामिछानेले साउनबाट जनगणना सुरु गर्ने गरी तयारी भइरहेको जानकारी दिएका छन।

साउन, भदौ र असोज तीन महिनामा जनगणना गर्न सकिन्छ भनेर विभागले योजना बनाउँदै छ । साउन २६ देखि असोज ८ भित्रमा सबै काम सक्ने गरी तयारी थालेका छ । तर टुंगो लागिसकेको छैन ।
जनगणना प्रत्येक दस–दस वर्षमा गरिन्छ । यस वर्षको १२ औं जनगणना २०७८ वैशाख २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भइरहेको थियो ।

तर कोभिड १९ को महामारी संक्रमणको कारण असहज परिस्थिति उत्पन्न भएकाले गत बैशाख १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले जनगणना अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

विभागले तोकेको मितिको प्रस्तावलाई स्वास्थ्य मन्त्रालयले अनुमति दिएमा जनगणना गराउन समस्या नहुने देखिन्छ । अब यो मिति सरकारलाई पनि मन पर्न पर्‍यो । स्वास्थ्य मन्त्रालयले पनि साथ दिनुपर्‍यो । त्यतिबेलासम्म कोरोना संक्रमण पनि घट्छ भन्ने विभागको अनुमान छ । विभागले जनगणना सम्पन्न गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गर्ने तयारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले प्रारम्भिक रुपमा साउन, भदौ र असोजमा जनगणना गर्न विभागलाई अनौपचारिक रुपमा स्वीकृत दिइसकेको विभागले जनाएको छ । मन्त्रालयले विभागलाई गणनाको तयारीमा जुट्नसमेत भनिसकेको छ ।

मन्त्रालयको भनाई उदृत गर्दै जनगणना प्रमुख लामिछानेले ‘साउनदेखि कोभिड घट्ने बेला भएको र त्यसपछि फेरि तेस्रो वेभ आउन सक्ने भएकाले यो ठिक समय छ, सुरु गर्नुस भन्नुभएको छ।’ उनले भने

मन्त्रालयसँग औपचारिक छलफलका लागि चिठी पठाएर समय मागिसकिएको छ । मन्त्रालयसँग छलफल भएपछि औपचारिक प्रस्ताव गरिने र उक्त प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी विभागले गरिरहेको छ ।

कोभिड महामारीको समयमा जनगणना आधिकारिक नआउने भएकाले महामारी सकिएपछि गणना गर्नुपर्ने प्रतिक्रिया पनि विभागलाई आइरहेको छ । तर विभागले भने गणनाको तयारीका धेरै कामहरु गरिसकेकाले अब धेरै समय पर्खिने अवस्था छैन ।

विभागले तयारी नगरेको भए त पछाडी सार्दा पनि हुन्थ्यो । विभागका संरचनाहरु सबै तयारी अवस्थामा छ । जनगणनामा आवश्यक सामग्रीहरु समेत जिल्लामा पुर्‍याइसकिएको छ । त्यसले गर्दा विभागले जनगणना पछाडि सार्नुभन्दा पनि दशैंभन्दा अगाडि नै सक्ने योजना बनाएको छ ।

जनसंख्या शास्त्र र तथ्याङ शास्त्रका विज्ञहरुले पनि छलफलको क्रममा विभागले तोकेको मिति नै उपयुक्त भएको सुझाव दिएका छन् । अब स्वास्थ्य मन्त्रालयको तथ्याङ हेरेर अन्तिम निर्णय गरिने विभागले जनाएको छ ।

एक साताभित्र स्वास्थ्य मन्त्रालयसँग छलफल हुने र अर्को हप्ता भित्र मन्त्रिपरिषदमा फाइल लैजाने विभागको तयारी छ ।

जनगणना शाखाका प्रमुख लामिछानेले भने, ‘मन्त्रालय र मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएअनुसार यो बेलामा गर्‍यो भने ठीक हुन्छ भनेर भनेको अवस्थामा हामी अगाडि बढाउने तरखरमा छौं ।’

महामारीअघि विभागले जनगणनाका लागि सुपरिवेक्षकहरुलाई तालिम दिइरहेको थियो । सुपरिवेक्षकहरुलाई ७ दिनको तालिम दिनुपर्ने भए पनि ५ दिन तालिम दिएपछि जनगणना नै स्थगित भएको थियो ।

जनगणनाका लागि गणक माग गर्दा ३९ हजार जनाले आवदेन दिएका भए पनि नतिजा भने सार्वजनिक भएको थिएन । आगामी वर्षको २०७८र०७९ को बजेटमा पनि जनगणना सम्पन्न गर्न एक अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ ।