दुई दिनका लागि काठमाडौँ महानगरपालिकाको नगरसभा स्थगन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक बर्ष ०७८/०७९ का लागि प्रस्तावित नीति तथा कार्यक्रम माथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको छ ।
हिजो नवौँ नगरसभाको पहिलो वैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नीति–तथा कार्यक्रम प्रस्ताव गर्नुभएको थियो । प्रस्तावित नीति तथा कार्यक्रमको अध्ययनका लागि उपप्रमुख सहित काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले २ दिनको समय माग गरेपछि प्रमुख शाक्यले आजको बैठकबाट २ दिनका लागि स्थगन गरेको जानकारी दिनुभयो ।
‘काठमाडौँ महानगरपालिकाको नवौँ अधिवेशन हिजोबाट सुरु भयो । हिजोको बैठकमा नेपाली काँग्रेसका तर्फबाट उपमेयर लगायत धेरैजसो साथीहरु अनुपस्थित रहनु भयो’, महानगर प्रमुख शाक्यले भन्नुभयो, ‘सबैको उपस्थितिमा छलफल गरेर सर्वसम्मत रुपमा नीति–तथा कार्यक्रम पारित गर्ने विगतको परम्परा अनुसार हिजोको बैठक स्थगन गरेर आजलाई राखेका थियौँ ।
मैले हिजो नै उपमेयर लगायत अन्य साथीहरुसँग पनि छलफल गरेँ । आज बिहान पनि उपमेयर लगायतका नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुसँग छलफल भयो । उहाँहरुले नीति–तथा कार्यक्रम अध्ययन गर्न दुई दिनको समय माग गर्नुभयो ।
त्यही अनुसार आज बैठक बसेर आइतबार ११ बजे सभागृहमै नीति–तथा कार्यक्रममाथिको छलफल गर्ने गरी बैठक स्थगन गरिएको छ ।’
प्रमुख शाक्यले असार १० गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यतालाई समेत ध्यानमा राखेर नेपाली काँग्रेसका तर्फका जनप्रतिनिधिसँग सघन छलफल गरेको बताउनुभयो । ‘विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि सर्वसहमतिले नीति–कार्यक्रम र बजेट पारित गर्ने गरी अघि बढ्छौँ’ उहाँले भन्नुभयो, ‘यस अघि कहिल्यै पनि अन्तर विरोध छैन । मलाई विश्वास छ ।
यो वर्ष पनि सहमतिमै नीति कार्यक्रम पारित हुन्छ । नीति–तथा कार्यक्रममा त्यस्तो असहमति राख्नुपर्ने केही छैन । अझ सघन अध्ययन गरेर जान पाए राम्रो भन्ने उहाँहरुको सुझावलाई सकारात्मक रुपमा लिएको छुु ।’
नगरसभामा पेस भएको नीति तथा कार्यक्रमलाई अझ परिपक्व बनाउन उहाँहरुबाट गहकिलो सुझाव आउने अपेक्षा लिएको पनि उहाँले बताउनुभयो । ‘बजेट पेस गर्ने उपमेयरले नै हो, मैले त्यो विषयमा पनि उहाँहरुलाई जानकारी गराएको छु ।
बजेट तर्जुमा समितिको संयोजक नै उपमेयर हुने भएकाले त्यो विषयमा उहाँहरु जानकार हुनुहुन्छ भन्ने ठानेको छु’ महानगर प्रमुख शाक्यले भन्नुभयो, ‘हामी १० गते बजेट पेश गर्छौं । त्यसपछि पनि लामो समय व्यापक छलफल गरेर बजेट पास गर्छौं ।’
शाक्यले नीति तथा कार्यक्रममा १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट÷सहुलियत दिने, महानगरवासीलाई ‘नागरिक स्वास्थ्य वीमा कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक नमूना विद्यालय कार्यक्रम, सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सक सहितको निशुल्क सेवा जस्ता महत्वपूर्ण कार्यक्रम प्रस्ताव गरिएको बताउनुभयो ।
वि.सं.२०७८ असार ४ २०:२७