back
stc
prabhu insurance

आजदेखि काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयका काम  नियमित

काठमाडौं उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा गएराति १२ बजेदेखि सकिए

काठमाडौं । काठमाडौं  उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले यसअघि स्थगित गरिएका सम्पूर्ण सेवा आजदेखि नियमित सञ्चालनमा ल्याउने भएका छन् ।

गएको वैशाख १३ गतेदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको थियो । जनस्वास्थ्यका मापदण्ड पूरा गरी सम्पूर्ण सेवा सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

कोरोना सङ्क्रमण जोखिम बढेपछि गएको वैशाख १६ गतेदेखि स्वास्थ्य, शान्ति सुरक्षा लगायतका अत्यावश्यक सेवा बाहेक अरु बन्द भएका थिए । नागरिकता, परिचयपत्र, राहदानी वितरण, सिफारिस जस्ता सेवा प्रवाह हुनेछन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि विज्ञप्ति निकालेर सबै सरकारी एवं सार्वजनिक निकायलाई नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको छ ।

ललितपुरमा महानगरवासीले आइतवार, सोमवार र मङ्गलवार नागरिकता, प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानीका सेवा लिन पाउने सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा गएराति १२ बजेदेखि सकिएको छ । अस्ति तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले मंगलवारदेखि निषेधाज्ञा खुकुलो बनाउने सहित सरकारी सेवा प्रवाह तथा बैंक, वित्तीय संस्था, सहकारी, गैरसरकारी संस्थाहरूमा स्वास्थ्य मापदण्ड सहित थोरै जनशक्ति र वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।