back
hangrilabank
himalayanlife
stc

प्रहरीको युएन परीक्षाको प्रश्नपत्र आउट. छानवीन समिति गठन: दुई पक्राउ

काठमाडौं । नेपाल  यूएन शाखामा रहेको प्रि–स्याटको प्रश्नपत्र आउट भएपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाइ छानवीन शुरू गरेको छ ।

समितिले दुई प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा जानका लागि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र ‘आउट’ भएको आशंकामा प्रहरी प्रधान कार्यालयले छानविन गरिरहेको छ ।

गत साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परिक्षा सञ्चालन भएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय जना परीक्षार्थी सहभागी थिए ।

प्रश्नपत्र ‘लिक’ भएको हल्लापछि प्रहरी प्रधान कार्यालयले साउन १६ मा नयाँ प्रश्नपत्रको सेट तयार गरेर डेढघण्टा ढिलो परीक्षा लिएको थियो ।

प्रश्नपत्र लिक गरेको आशंकामा प्रधान कार्यालयबाट साइबर ब्यूरोमा सरुवा भएका कुमार शाह र युएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ । कुमार शाहको भाइबरमा प्रश्नपत्र भेटिएको बताइएको छ ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार प्रहरी प्रधान कार्यालय र प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी बसन्त लामा नेतृत्वको समितिले घटनाबारे छानविन गरिरहेको छ ।  प्रि–स्याटको प्रश्नपत्र परीक्षा हुनभन्दा अघि डीएसपी रुपेश खड्काको घरमै पुगेको थियो ।

डिएसपी खड्काले ल्याण्ड लाइन नम्बर ०१–४४१०५९९ मार्फत युएन शाखामा सम्पर्क गरेर प्रश्नपत्र मगाएका थिए । यसअघि पनि युएन शाखामा काम गरेका खड्कालाई भर्खरै निरीक्षकमा बढुवा भएका दिनेश पुनले प्रश्नपत्र पठाएको बताइएको छ ।

डीएसपी खड्कालाई प्रश्नपत्र पुरयाउन प्रहरी नायव निरिक्षक ९सई० जनक थापा उनको घरमा पुगेको प्रहरी स्रोतले बताएको छ ।

डीएसपी खड्का सहित ८ जना परीक्षार्थीले परीक्षा हुनुअगावै प्रश्नपत्र पाएका थिए । युएन शाखामा कार्यरत डीएसपी बासुदेव पाठकले पनि ह्वाट्सएप मार्फत उनी निकट एकजनालाई प्रहरी नायव निरीक्षक ९सईलाई प्रश्नपत्रको फोटो खिचेर पठाएको प्रहरी प्रधान कार्यालयमा कार्यरत एकजना अधिकृतले बताएका छन् ।

प्रश्नपत्र लिक भएको थाहा पाएपछि युएन शाखाका एसपी अनुपम शम्शेर जबराले गत साउन १६ को परीक्षामा पहिले तयार गरेको सेट रद्द गरेर नयाँ प्रश्नपत्र बनाएर परीक्षा लिन लगाएका थिए ।

अब यो परीक्षा पनि रद्ध हुने संभावना रहेको छ । सन २०१८ मा पनि प्रश्नपत्र बाहिरिएको थियो । अहिले यो विषयमा कुनै पनि कुरा बाहिर नल्याउने गरी आन्तरिक छानबिन शुरु भएको छ।