back
stc
prabhu insurance

रामचन्द्रको विकल्प को ? प्रकाशमान, डा.शशांक वा विमलेन्द्र

काठमाडौं। नेपाली कांग्रेसको १४ओैं महाधिवेशनको चहलपहल सुरु हुनासाथ सभापतिका लागि उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसमा धक्का दिन सक्ने गरी एउटा गठजोड बनाउन थालेका छन्।

‘तीन युवराज’ अथवा ‘राजकुमार’ भनी व्याख्या गरिएका निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहको गठजोडले संस्थापक इतर समुहका परम्परागत सभापतिका उम्मेदवार रामचन्द्र पौडेलको विकल्पमा निधि, डा. कोइराला र सिंहले धक्का दिन खोज्दैछन्।

विभिन्न चरणमा कहिले निधि निवास, कहिले डा.कोइराला निवास त कहिले सिंह निवास चाक्सीबारीमा भएका भेट र बैठकमा उनीहरूको स्वर थियो– नयाँ पुस्ताको नेतृत्वमा कांग्रेस यस पटक अगाडि बढ्छ। तर तीनै नेताको सभापतिमा दाबी पनि रहदै आएको छ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवालाई १४ औं महाधिवेशनमा सभापतिको दाबेदारीलाई फिर्ता गराउनका लागि निधिले यो गठजोड बनेको बताइन्छ।

तर, गठजोडका तीनै जनाले सभापतिका लागि घोषणा गर्नुचाहिँ ‘त्रिशंकु’ जस्तो देखिएको छ। तीन जना मध्ये एक जना सभापतिमा उठेर सहयोग गरेको खण्डमा देउवालाई धक्का लाग्ने देखिए पनि सतहमा आएका दाबी र घोषणाले गठजोड नै ‘त्रिशंकु’ हुने अनुमान गरिएको छ। तर यी तिनबाट एक सभापति र दुई उपसभापति उम्मेद्वार बन्ने सम्भावना रहेको छ।

निधि मात्र होइन डा. कोइराला र सिंहले पनि सभापतिमा दाबेदारी प्रस्तुत गरेका छन्। जसले जित्ने स्पष्ट आधारका लागि कांग्रेसभित्र बलियो सांगठनिक उपस्थिति चाहिन्छ।

निधिलाई मधेसको राम्रो समर्थन हुन सक्छ, सिंहलाई गणेशमान सिंहको विरासत र आदिवासी जनजाति सहित सबै पक्षको समर्थन आउन सक्छ। डा. कोइरालालाई कांग्रेसका संस्थापक नेता विपि कोइरालाको विरासत र देशव्यापी कार्यकर्ताहरूको समर्थन रहन सक्छ।

देउवालाई पराजित गर्न सक्ने हैसियत कांग्रेस नेता कोहीसँग छ भने त्यो डा. शशांक कोइराला नै हुन। निर्वाचित महामन्त्री रहेकाले पनि देशव्यापी रूपमा डा. कोइरालाको पक्षमा कार्यकर्ता समेटिदै पनि गएका छन।

निधि सभापतिमा जित्नका लागि देउवाको अनिवार्य सहयोगको खाँचो हुने देखिन्छ। उनी निरन्तर हालको संस्थापन पक्षमा रहेका कारण इतर समूहले विश्वास गर्ने आधार देखिँदैन।

जिल्ला तहसम्मको सांगठनिक संरचना हेर्दा देउवा र रामचन्द्र पौडेलकै मात्र पकड रहेको देखिन्छ। तराई मधेस वाहेकका जिल्लाहरूमा निधिको कुनै सांगठनिक पकड देखिदैन ।

स्वभाविक रुपमा पनि हालै भएका जिल्ला सभापतिहरुको फरक–फरक बैठकमा यस्तो दृश्य देखिएको थियो। पौडेलले गरेको बैठकमा ४७ जिल्ला सभापतिहरु सहभागी थिए भने बाँकी देउवा पक्षमा थिए।

पौडेलले पनि सभापतिमा दाबी गरिरहेका कारण कोइराला र सिंहको घोषणाले मात्र नपुग्ने कतिपयको बुझाई रहेको छ। अझ पौडेलकै खेमामा रहेका डा. शेखर कोइराला पनि सभापतिको अभ्यासमा सक्रिय रहेका छन्। उनी फरक अनि तेस्रो पुस्तासम्मको प्यानलका रुपमा खडा हुने विचारमा छन्।

महाधिवेशनमा सभापतिमा उठिसकेका तर यसपटक त्यति धेरै दाबी नगरेका तेस्रो घारका नेता कृष्ण प्रसाद सिटौलाले पनि धेरथोर प्रभाव पार्न सक्ने देखिँदा निधि, डा.शशांक र सिंहको गठजोड मिलेर गएको अवस्थामा देउवालाई पुनस् सभापति जित्न कठिन हुन सक्छ।