ट्राफिक प्रहरीलाई राजस्व अपराधीको सहयोग

काठमाडौं। उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै भदौं २५ गतेबाट काठमाडौंको महेन्द्रशालिक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ ।
ट्राफिक प्रहरी महाशाखा रामशाहपथले अरबौं राजस्व छलिको आरोप लागेको अपराधिक कम्पनी एनसेलसँगको आर्थिक सहयोगमा दरबारमार्गको महेन्द्रसालिक र कामना सेवा विकास बैंकको सहयोगमा ज्ञानेश्वर ओरालोमा नयाँ ट्राफिक लाईट जडान गरि भदौ २५ गतेदेखि संचालनमा ल्याइएको छ ।
नयाँ जडान गरिएको महेन्द्रशालिक चोकको ट्राफिक लाईट महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई र राजस्व छली कम्पनी एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले स्वीच अन गरी संयुक्त रूपमा उदघाटन गरेका छन् भने ज्ञानेश्वर ओरालो चोकको ट्राफिक लाईट एसएसपी भट्टराई र बैंकका सिईओ प्रबिन बस्नेतले गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले उपत्यकाको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिंदै आएको बताएका छन् ।
“हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधिमैत्री बनाउने अभियानमा छौ, यसको लागी विभिन्न निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै आईरहेका छौं ।
आज जडान भएका लाईट त्यसैको परिणाम भएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट राख्न हातेमालो गर्ने योजना समेत रहेको छ ।” भट्टराईले भनेका छन। प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राथमिकता दिदै आएको छ ।
कार्यक्रममा बोल्दै एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले ट्राफिक लाईटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
पछिल्लो समय ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिंदै ट्राफिक लाईट जडानमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अन्य स्थानहरुमा ट्राफिक लाईट जडान र अन्य कार्यहरुमा सहकार्य एव सहयोगी बन्ने समेत बताए ।
बैंकका सिईओ बस्नेतले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहिलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईट महत्वपुर्ण सहयोगी बन्ने बिश्वास व्यक्त गरे । आगामी दिनहरुमा ट्राफिक व्यवस्थापन लगायतका कार्यहरुमा समन्वय एव सहकार्य गर्दै जाने बताए ।
उद्घाटन कार्यक्रममा महाशाखाका प्रमुख, स्थानीय निकायका पदाधिकारीहरू, सहयोगी संस्थाका पदाधिकारीहरू र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको महाशाखाले जनाएको छ।
ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनीकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा लाईट जडानको लागी समन्वय एव सहकार्य भैरहेको महाशाखाले जनाएको छ ।
ट्राफिक लाईट सञ्चालनमा आएका चोकहरुमा लाईटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।
वि.सं.२०७८ भदौ २५ १८:१४