back
stc
prabhu insurance

सडकमा दशैं अगाडि चलखेका आधारमा सरूवा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असोज १५ गतेको मितिमा चार जना सहसचिव तहका सुई, २७ जना उपसचिव स्तरका डीई र ९५ अधिकृत (इन्जीनीयर) को सरुवा गरेको छ ।

मन्त्रालयले यसअघि १८ जना र अहिले २७ गरी ४५ जना डीईहरुको यो आर्थिक वर्षमा सरुवा गरेको छ । इन्जीनीयर, डीई र सुईको सरुवामा भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले ब्यापक आर्थिक चलखेल गरेको आरोप लागेको छ ।

मन्त्री नभएको मौकापारि डीईको सरुवामा बरिष्ठता, कार्यक्षमता भन्दा पनि आर्थिक मोलमोलाईलाई आधार सरूवा गरेको आरोप लागेको छ ।

सिनियरलाई पछि पार्दै कनिष्टहरुलाई आर्थिक लाभकै आधारमा आकर्षक डिभिजन र आयोजनामा सरुवा गरिएको छ । सडकका इन्जीनियर र डीईहरुको सरुवा बजेटको आकार हेरी जति बढी बजेट छ, त्यति नै बढी दररेट तय गरी सरूवा गरेको बताइन्छ ।

आवरण विज्ञापन एजेन्सी भए सधैं भौतिक मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठको कार्यकक्षमा बस्ने रविन श्रेष्ठले नै सरुवाको डिल गरी जसले बढी आर्थिक लाभ दिन्छ , उसैलाई त्यति बढी बजेट भएको आकर्षक आयोजनामा सरुवा गरिएको आरोप लागेको छ ।

सहसचिवको तहका सुईहरूको सरुवा सचिवले गर्न नमिल्ने ब्यवस्था भएकाले प्रधानमन्त्री शेर बहादुर देउवाका साला भूषण राणामार्फत् प्रधानमन्त्री देउवासँग भेटेर सदर गराएका छन् । भौतिक मन्त्रीको कार्यभार प्रधानमन्त्री देउवाले नै सम्हाल्दैआएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्राविधिक सल्लाहकार गजेन्द्र थपलियाको जोडमा ३ बर्ष हुलाकी सडक आयोजनाको प्रमुख भएका रोहित बिसुराललाई भौतिक पुर्वाधार मन्त्रालयमा तानिएको छ ।

कर्णाली प्रदेशको सिंचाई मन्त्रालयका कामु सचिव धर्मेन्द्र झालाई अरबौं बजेट भएको हुलाकी सडक आयोजनाको प्रमुख बनाइएको छ । प्रदेश नम्बर १ का सुई नवीनामान श्रेष्ठलाई सुदूरपश्चिम प्रदेशको संघीय सुपरीवेक्षण तथा अनुगमन कार्यालयमा सरूवा गरिएको छ ।

त्यहाँका सुई प्रभात झालाई सडक बिभागमा तानिएको छ । प्रदेश १ को सुईमा भने कसैलाई पनि सरूवा गरिएको छैन। त्यहाँ पठाउन पनि मोलमोलाई भइरहेको छ ।

सडकका सुई, डिई र ईञ्जिनियर सरुवा गर्दा सचिव श्रेष्ठले प्रधानमन्त्री देउवाका साला राणासँग मिलेर गरेका छन् । सडकका सरुवादेखि ठेक्कापट्टामा कांग्रेस नेता रमेश लेखक, पुर्व मन्त्री वीरबहादुर बलायरको सल्लाहमा गरिएको छ।

बलायर भौतिक मन्त्री हुँदा पनि इन्जीनीयर सरुवा राणाको निर्देशनमा हुने गर्दथ्यो । २०७८असार २९ मा देउवा प्रधानमन्त्री भए पनि भौतिक मन्त्री नियुक्त नभएकाले सचिव श्रेष्ठले राणासँग मिलेर सडकका सरुवा गरेको आरोप लाग्दै आएको छ।

डिई अमृतमणि रिमालले यसअघि विभाग सरुवा गरिएपनि कांग्रेस नेतालाई भनाएर नुवाकोट डिभिजन सरूवा गर्न सफल भएका छन। इन्जीनियरबाट केही महिनाअघिमात्र डीईमा बढुवा भएका सुदर्शन कार्कीलाई लेनदेनकै आधारमा बिराटनगर जस्तो आकर्षक डिभिजनमा सरूवा भएका छन् ।

असोज १५ गते सरूवा भएका डिभिजन प्रमुखहरुमा निरज श्रेष्ठ सुर्खेत, रामेश्वर लम्साल पाल्पा, रामपुकार जैसवाल दाङ, कैलाशकुमार श्रेष्ठ धनकुटा, बलिराज मल्ल बागलुङ, पशुपति ज्ञवाली ११ किलो, अर्जुन सुवाल चरिकोट, दीप बाराही डोटी र राजेन्द्रप्रसाद साह तुम्लिङटार रहेका छन् ।

यसैगरि सरुवा हुने अन्य डीईहरुमा बिष्णुप्रसाद चौलागाई क्षेत्रीय सडक काठमाडौं, बिजयकुमार महतो एडीबी सडक उप आयोजना निर्देशनालय, विनोदप्रसाद सापकोटा गुणस्तर, पारसमणि हमाल मदन भण्डारी आयोजना सुर्खेत, अविमनदास मुल्मी हुलाकी सडक धनगढी, राजेश कुमार यादव सेती दक्षिण साँफेबगर सडक, पवन भट्टराई सहीदमार्ग रोल्पा, दानकुमार शाक्य सडक विभाग रहेका छन् ।

सरुवा हुुुुने अन्य डीईहरुमा जगत प्रजापति बेनी–जोमसोम सडक आयोजना, गौतमकुमार श्रेष्ठ भक्तपुर–नगरकोट सडक, दीपेन्द्र पाण्डे काठमाडौं सडक बिस्तार आयोजना, गुरुप्रसाद अधिकारी सडक विभाग, राजीव श्रेष्ठ जुम्ला–नाग्मा–गमगढी सडक आयोजना, नातिबाबु खड्का बसन्तपुर सडक, रमेशकुमार सिंह मदन भण्डारी राजमार्ग र दिपेश रजक कोशी करिडोर रहेका छन् ।

यसअघि पनि सचिव श्रेष्ठले १८ डीईको सरुवा निकालेका थिए । मध्यपहाडी धुलिखेल, दैलेखमा पनि काम भन्दा आर्थिक चलखेलका आधारमामा डीई नारायण निउरेलाई काठमाडौं डिभिजन प्रमुखमा सरुवा गरिएको थियो ।

सडकमा सधैं आकर्षक कार्यालयमा रम्दैआएका मेघराज मरासिनीलाई पुष्पलाल मध्यपहाडी सडक योजना कार्यालय पर्वतबाट धुलिखेल सरुवा गरिएको थियो। त्रिशुली–मैलुङ–स्याफ्रुबेसी सडक आयोजनाका प्रमुख डीई नारायणदत्त भण्डारीलाई पुष्पलाल मध्यपहाडी सडक योजना कार्यालय पर्वतमा सरूवा गरिएको छ । अर्का डीई अंगलाल रोकायलाई पुल योजनाबाट सडक विभाग अन्तर्गत काज सरुवा गरिएको छ ।

डीई केदारप्रसाद नेपाललाई भौतिक मन्त्रालयबाट पुल योजना मध्य क्षेत्र नम्बर २, भौतिक मन्त्रालयका डीई किरण कार्कीलाई भौतिक मन्त्रालयबाट नारायणगढ–मुग्लिङ सडक आयोजना, कान्ति राजमार्ग सडक आयोजनाका ज्ञानेन्द्रकुमार झालाई भौतिक पूर्वाधार मन्त्रालय, काठमाडौं सडक डिभिजनका प्रमुख कुवेर नेपालीलाई काठमाडौं चक्रपथ सडक विस्तार आयोजनामा सरूवा गरिएको थियो ।