back
stc
prabhu insurance

कुपन्डोलबाट १५ सय किलो पटका बरामद

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको कुपण्डोलबाट करिब १५ सय किलोग्राम पटकाजन्य विष्फोटक पदार्थसहित एक जना उमेश कुमार जैसवाललाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका वडा नं ९ १ कुपण्डोलस्थित गुसिंगलमा टहरा भाडामा लिई भण्डारण गरेर राखिएको अवस्थामा प्रहरीले ११९४ केजी पटकाजन्य विष्फोटक पदार्थ बरामद गरेको हो ।

करिब २० लाख रुपैयाँ मूल्य बराबरको पटका, भईचम्पा लगायतका आतिसबाजीजन्य विष्फोटक पदार्थसहित उमेश कुमार जैसवाललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

आगामी तिहारका लागि लक्षित गरेर दशैं अगाडि नै गैरकानुनी रुपमा लुकाई छिपाई विष्फोटक पदार्थ भारतबाट ल्याएर कुपन्डोलमा भण्डारण गरेको सूचनाको आधारमा महाशाखाको टोलीले टहरामा छापा मारेको थियो ।

पक्राउ अभियुक्तलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्वन्धी कसुर अन्तर्गतको मुद्दामा कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले आज जनाएको छ ।