बाबुराम श्रेष्ठ उपरथीमा बढुवा
काठमाडौं । नेपाली सेनाका सहायकरथी बाबुराम श्रेष्ठ उपरथीमा बढुवा भएका छन् । उनलाई गत कार्तिक १ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपरथीमा बढुवा गरेको हो । श्रेष्ठलाई जंगी अड्डाले असोजको दोस्रो साता बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो ।
मन्त्रिपरिषदले श्रेष्ठलाई मध्य कमाण्ड प्रमुखको जिम्मेबारीमा पदस्थापन गरेको छ । त्यहाँ रहेका उपरथी विनयविक्रम राणाको जंगी अड्डामा सरुवा भएको छ ।
श्रेष्ठ सेनाका २६ बेसिकका अधिकृत हुन् । उनी सेनाको तालिम महानिर्देशनालयमा कार्यरत थिए । उनले पाकिस्तानबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् ।
श्रेष्ठको ब्याचका उपरथी सरोज प्रताप राणा रथी बढुवाको सिफारिसमा गत आइतवार परेका छन। श्रेष्ठका व्याजी सहदेव खड्का, विनय राणा र सन्तोष ढकाल यस अघि नै उपरथी भइसके पनि उनी भने यसअघिका प्रधानसेनापति पूूर्णचन्द्र थापाको ‘कोपभाजन’मा पर्दा बढुवा हुन सकेका थिएनन् ।
२७ नम्बर वाहिनीको वाहिनीपति हुँदा आफ्नो क्षेत्रका बासिन्दालाई ल्याएर भर्ना फारम भर्न लगाएको भन्दै श्रेष्ठलाई नसिहत दिइएको थियो । यस घटनामा श्रेष्ठ संलग्न नभए पनि थापाले पूर्वाग्रह राखेर कारबाही गरेको सेनाभित्रै चर्चा हुँदै आएको छ ।
वि.सं.२०७८ कात्तिक २ १७:२०




















