back
stc
prabhu insurance

भैंसी विकास बोर्ड गठन गर्न विज्ञको माग

काठमाडौं । नेपालमै पहिलो पटक १० औं एसियाली भैसी विज्ञ सम्मेलन भएको छ। सो सम्मेलनले पाँचबुँदे घोषणापत्र जारी गरेको छ । जसमा नेपालमा भैसी विकास समाज स्थापना गरिनु पर्ने, भैसी विकास बोर्ड गठन गरिनु पर्ने र भैसी अनुसन्धान प्रतिष्ठान स्थापना गरिनु पर्ने एजेन्डा रहेको छ ।

भारत, पाकिस्तान, बंगलादेश लगायतका मुलुकमा भैंसी विकास समाजले भैसीको प्रवर्द्वनका लागि धेरै पहिलेदेखि काम गर्दै आएको भए पनि नेपालमा भने हालसम्म त्यस्तो निकाय छैन ।

त्यस्तै घोषणापत्रको दोस्रो बुँदामा भैसीसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरू जस्तै एसियन बफेलो एसोसिएसन, इन्टरनेसनल बफेलो फेडेरेसन लगायतका संस्थाहरूसँग सहकार्य गर्नु रहेको छ ।

ती संस्थाहरूले विकास गरेका भैसीसँग सम्बन्धित विभिन्न नयाँ प्रविधि नेपालमा पनि ल्याउन सहकार्यमा जोड दिइएको छ । नीतिगत समस्याका कारण नेपालमा भारतबाट उच्चस्तरीय जेनेटिक मटेरियल ल्याएर जातीय सुधार गर्न धेरै प्रयास भए पनि सफल हुन नसकेकाले उल्लेखित संस्थाहरूसँगको सहकार्यबाट त्यो सम्भव हुन सक्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव तथा भैंसी प्रजनन् विज्ञ डा. लोकनाथ पौडेलले बताएका छन ।

उनले भने– ‘भारतबाट मुर्रा जातका राँगो भैसी ल्याएर नस्ल सुधार गर्न धेरै प्रयास गरियो, सम्भव भएको छैन । दुई देशका सरकारबीच पनि पहल गरियो तर सम्भव भएन । त्यसैले प्रजननसम्बन्धी वस्तु नेपाललाई उपलब्ध गराउन एसियन बफेलो एसोसिएसन, बफेलो फेडेरेसनले सहजीकरण गर्न सकिन्छ ।’

त्यस्तै अब नेपालले अन्तर्राष्ट्रिय सम्मेलन पनि गर्न सक्ने भएकाले त्यसका लागि बफेलो फेडेरेसनसँग प्रस्ताव गरिने उनले बताए । आगामी सम्मेलन बंंगलादेशमा गर्ने निर्णय भएको छ।

प्रत्येक तीन वर्षमा हुने भैंसी विज्ञ सम्मेलनको आगामी सम्मेलन पाकिस्तानले गर्न चाहेको भएपनि हालसम्म बंगलादेशले सम्मेलन गर्न नपाएको भन्दै बंगलादेशकै पक्षमा मत जाहेर भएपछि बंगलादेशमा गर्ने निर्णय भएको छ ।

नेपालमा पहिलो पटक आयोजित एसियाली भैसी विज्ञ सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च महत्व दिनु भएकोमा अन्तर्राष्ट्रियस्तरमै चर्चा भएको छ ।

सम्मेलन उदघाटन समारोहमा प्रधानमन्त्रीको सन्देश, कृषि पशुपक्षी विकास मन्त्री महेन्द्र राय यादवबाट उदघाटन, कृषि सचिव डा. गोविन्दप्रसाद शर्मा चितवनमै उदघाटन समारोहमा उपस्थिति भएकाले भैंसी विज्ञ सम्मेलनको अन्तर्राष्ट्रिय जगतमा छुट्टै प्रकारको सन्देश प्रवाह भएको छ। नेपालले लाइभस्टक क्षेत्रमा केही गर्न सक्छ भन्ने सन्देश गएको छ ।

कार्यक्रममा सहभागीहरूले सम्मेलनको मुक्तकण्ठले प्रशंसा गरेका छन। जसबाट नेपाली विज्ञ उत्साहित भएका छन् ।

सम्मेलनमा सहभागी हुने प्रतिबद्धता जनाएका १७ वटै देशका विज्ञले सम्मेलनमा सहभागिता जनाएका थिए । उनीहरूले पशु स्वास्थ्य, पशु आहार, प्रजनन्, बजारीकरण, व्यवस्थापनसँग सम्बन्धित उच्चस्तरीय कार्यपत्र प्रस्तुत गरेका थिए ।

जसले अन्तर्राष्ट्रिय जगतमा भैसीको क्षेत्रमा नयाँ के भइरहेको छ भन्ने कुरा संसारभर प्रविधि प्रसारमा ठूलो सहयोग पुगेको छ । सम्मेलनमा अमेरिका, इटली, फिलिपिन्स, जापान टर्की, बुल्गेरिया, रोमानिया, वेस्ट इन्डिज लगायतका मुलुकको पनि सहभागिता रहेको थियो ।

नेपालले सन् २०१७ मा चितवनमा अन्तर्राष्ट्रिय भैसी विज्ञ कार्यशाला गरेका कारण पनि नेपाललाई एसियाली सम्मेलनका लागि इन्टरनेसनल बफेलो फेडेरेसनले विश्वास गरेको बताइएको छ । पाँचदिने सम्मेलन गत कार्तिक १२ गते शुक्रबार सम्पन्न भएको थियो ।

नेपालको पशुपालन क्षेत्रमा भैसीको ८ प्रतिशत योगदान रहेको भए पनि भैसीमा राज्यको लगानी एकदमै न्यून रहेको छ । जसका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा भैंसीको संख्या घट्दै गएको छ । राज्यले भैसीपालक किसानलाई प्रोत्साहित गर्न नसकेकै कारण यस्तो भएको हो । यही स्थिति रहेमा आगामी दिन नेपाल भैसीपालनमा चौथो स्थानबाट पनि पछि धकेलिन सक्ने खतरा छ ।

बहुउपयोगी भैसीपालनबाट नेपालको दूध उत्पादनमा ६० र मासु उत्पादनमा ३४ प्रतिशत योगदान रहदै आएको छ । विगतमा मासुमा पनि भैसी पहिलो नम्बरमा रहेको थियो । पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार पछिल्लो समय मासुमा पोल्टी क्षेत्रको बाहुल्यता बढेपछि राँगा(भैसीको मासुको खपत घटेको हो तर उत्पादन भने घटेको छैन ।

हाल मासुमा कुखुरा पहिलो, भैसी दोस्रो र खसी(बोकाले तेस्रो स्थान ओगटेको छ । खासगरी गाई हिन्दूहरूको धार्मिक आस्था र लक्ष्मीमाता भएकाले नेपाल र भारतमा भैसीको मासु बढी उपयोग हुने गरेको छ भने अन्य मुलुकमा भने भैसीको मासु खासै उपयोगमा रहेको छैन ।

मासुमात्रै नभई दूधमा पनि भैंसी अब्बल मानिन्छ । तुुलनात्मकरूपमा गाईभन्दा भैसीको दूधमा बढी फ्याट र ठोस पदार्थ हुन्छ । जसले गर्दा भैसीको दूध बढी मूल्यमा बिक्री हुन्छ । गाईको दूधमा पानीको मात्रा ८७ प्रतिशत हुन्छ भने भैसीको दूधमा ८२ प्रतिशतमात्रै हुन्छ । भैंसीको दूध स्वादिलो पनि हुन्छ ।

विश्वमा भैसीको संख्या २० करोड रहेकोमा आधा हिस्सा भारतले ओगटेको छ । जर्मनीबाट भैसी प्रजननमा सहसचिव लोकनाथ पौडेलले विद्यावारिधि समेत गरेका छन। विश्वमा रहेको भैंसीको कुल संख्यामध्ये ५० प्रतिशत भारतमा रहेको छ ।

भारतमा हाल भैसीको संख्या ११ करोड रहेको छ । त्यसपछि क्रमशः पाकिस्तान, चीन र चौथोमा नेपालमा रहेको छ । यसबाहेक बंगलादेश, म्यान्मार, थाइल्यान्ड, इन्डोनेसिया, इटली, ब्राजिल, बुल्गेरिया लगायतका मुलुकमा पनि भैंसीपालन बढ्दोक्रममा रहेको छ । तथापि एसियामा जति अन्य क्षेत्रमा भैंसी पालन छैन । नेपालमा भने भैसीको संख्या ५१ लाख रहेको अनुमान छ ।

उन्नत जातका भैसीबाट दैनिक २५ लिटरभन्दा बढी दूध उत्पादन लिन सकिन्छ । तर हाल २० लिटरसम्म उत्पादन दिने भैसी प्रचलनमा रहेका छन् । नेपालमा भैसीको संख्या ५१ लाख रहेको छ, जसमध्ये ३५ देखि ४० प्रतिशतमात्रै उन्नत जातका रहेका छन्, बाँकी स्थानीय जातका रहेका छन् ।