back
stc
prabhu insurance

सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आज काठमाडौँ जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

कार्यालय उद्घाटनपछि बोल्दै मुख्य निर्वाचन अधिकृत आजबाट स्थानीय निर्वाचन २०७९ का कार्यक्रम औपचारिक रुपमा सुरु भएको प्रतिक्रिया दिनुभयो । यहाँ कार्यालयबाट काठमाडौँ महानगरपालिकाको निर्वाचन कार्यक्रम सञ्चालन हुनेछन् ।

अन्य पालिकाहरुमा आजैबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । पालिकाहरुको निर्वाचन ती कार्यालयहरुबाट सञ्चालन हुनेछन् । निर्वाचन अधिकृतको कार्यालयहरुको सञ्चालन व्यवस्थापन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछ ।

निर्वाचन तालिकाअनुसार बैशाख ११ विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र १२ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मेद्वारहरुको मनोनयन दर्ता हुनेछ ।

बैशाख १३ विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।

बैशाख १४ गतेदेखि १५ गते ५ बजेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ । १५ गते अपरान्ह ५ बजेदेखि ६ बजेसम्ममा मनोनयन भएका उम्मेद्वारको नामावली प्रकाशन गरिनेछ ।

१६ गते विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ । त्यसैदिन ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । १७ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ ।

बैशाख ३० गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम हुनेछ । बैशाख २७ गते राती १२ बजेपछि मौन अवधि सुरु हुनेछ ।

मुख्य निर्वाचन अधिकृत खतिवडाकाअनुसार निर्वाचन कार्यक्रम सञ्चालन गर्नु र आयोगको जारी गरेका कानुनी प्रबन्धहरुको अनुगमन गर्ने काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्वच्छ निर्वाचनका लागि बैध हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको छ । कार्यालय उद्घाटनका क्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो, ‘हामीले स्थानीय निर्वाचन २०७९, एकीकृत जिल्ला सुरक्षा रणनीतिक योजना बनाइसकेका छौँ ।

यसमा सुरक्षाका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीको भूमिका तथा म्यादी प्रहरीको परिचालन एकिन गरिसकेका छौँ ।’

मुख्य निर्वाचन अधिकृत खतिवडा, प्रमुख जिल्ला अधिकारी रिजालसहितको टोलीले आज काठमाडौँका अन्य पालिकामा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण गर्नुभयो ।