back
prabhu insurance
himalayanlife

दूधको गुणस्तर कायम गर्न गुणस्तरीय प्रयोगशाला स्थापना गर्न माग

बुटवल । रुपन्देहीका दुग्ध व्यवसायीले जिल्लामा दूधको गुणस्तर कायम गर्न गुणस्तरीय प्रयोगशाला स्थापना गर्न माग गरेका छन् । दूधको गुणस्तरको विषयमा पटकपटक कुरा उठ्ने गरेको भन्दै व्यवसायीले दूधको गुणस्तर कायम राख्न गुणस्तरीय प्रयोगशालाको आवश्यक रहेको बताएका हुन् ।

रुपन्देही डेरी व्यवसायी समितिले बुटवलमा आयोजना गरेको दूध तथा दुग्धजन्य पदार्थमा शुद्धता विषयक अन्तक्र्रियामा अधिकांश दुग्ध व्यवसायीले गुणस्तरीय दूध र दुग्धजन्य वस्तुको कारोबार र उपभोग गर्नुपर्नेमा जोड दिएका छन् ।

रुपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष गणेशसिंह भण्डारीले पछिल्लो समयमा गुणस्तरीय दूधको नाममा बजारमा सस्तो दरमा गुणस्तरहीन दूध बिक्री भइरहेको बताउनुभयो ।

अध्यक्ष भण्डारीले डेरी व्यवसायीलाई विभिन्न तहबाट बिचौलियाको आरोप आउने गरेको भन्दै पछिल्लो समयमा किसानबाट दूध खरिद गर्ने सहकारी संस्थाले ल्याक्टो, फ्याटका आधारमा दूध खरिद गर्ने र थोकमा अन्य व्यवसायीलाई बिक्री गर्नेगरी बिचौलियाको काम गरेको आरोप लगाउनुभयो ।

गुणस्तर तथा नापतौल कार्यालय बुटवलका प्रमुख शम्भुप्रसाद झाले लेबलिङ, प्याकेजिङ, पास्चराइजेसन नगरिएको वस्तु उपभोग, बिक्री वितरण गर्न नपाइने नियम भएको भन्दै खुला दूध बिक्री गरिरहेका व्यवसायीले बिस्तारै प्याकेजिङमा जानुको विकल्प नभएको बताउनुभयो ।