जेठ ७ गते नीति कार्यक्रम संसदमा पेश हुने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी जेठ ३ गते संसद अधिवेशन आह्वान भएको थियो ।
सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिएका छन । प्रवक्ता पाण्डेले संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिबाट संसद अधिवेशन जेठ ३ गतेलाई आह्वान गरिएको थियो ।
सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म गर्ने भएको छ । प्रवक्ता पाण्डेले बजेट अधिवेशनको लागि संसद सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको बताएका छन् ।
उनले जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । जेठ ४ र ५ गते संसदमा प्रि–बजेटमा छलफल हुनेछ ।
जेठ १२ वा १३ गते संसदमा आर्थिक सर्वेक्षण सम्बन्धी प्रस्ताव अर्थ मन्त्री जनार्दन शर्माले पेस गर्ने र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको छ।
प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरु निरन्तर रुपमा चल्ने बताएका छन । पाण्डेका अनुसार प्रतिनीधि सभासँगै जेठ ३ गतेबाट राष्ट्रिय सभाको बैठक पनि शुरु हुनेछ ।
वि.सं.२०७९ वैशाख २८ १५:१५




















