असारदेखि भैरहवाबाटै श्रम स्वीकृति
भैरहवा। भैरहवामा १ असारदेखि वैदेशिक रोजगार विभागको कार्यालय स्थापना हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन्।
सिद्धार्थ उद्योग वाणिज्य संघमा आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जेठदेखि अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै यहाँबाट वैदेशिक रोजगारीका लागि उडान भर्नेहरूले श्रम स्वीकृति लिन काठमाडौं जानु पर्ने बाध्यता भएपछि सहजताका लागि सरोकारवाला निकायले श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गरेका थिए।
मन्त्रालयका निमित्त सचिवलगायत विभिन्न फाँटका प्रमुखसहित भैरहवा आएका मन्त्री श्रेष्ठले १असारदेखि वैदेशिक रोजगार विभाग कार्यालय स्थापना हुने भएकाले सहयोग गर्न सबै सरोकारवाला निकायमा आग्रह गर्दै भने, “श्रम स्वीकृति दिने कार्यालय मात्र नभई वैदेशिक रोजगारमा जाँदा गरिने स्वास्थ्य परीक्षण, खाडी मुलुकका भिसा सेन्टरका शाखा, म्यानपावर कार्यालयका शाखासमेत स्थापना गर्ने तयारी भइरहेको छ” मन्त्री श्रेष्ठले भने।
छलफल कार्यक्रममा रुपन्देहीका संघीय सांसद प्रमोद यादवले कुनै पनि हालतमा वैदेशिक रोजगारमा जानेहरूको आवश्यक सबै काम भैरहवाबाटै हुने व्यवस्था गर्न आग्रह गरे। उनले श्रमसँग आवश्यक सबै सरोकारवाला पनि एकै साथ स्थापना हुनु पर्नेमा जोड दिए।
सिद्धार्थनगर नगर पालिकाका नव निर्वाचित मेयर इश्तियाक अहमद खानले श्रम सम्बन्धी आवश्यक सबै कार्यालय स्थापना भैरहवामा गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने बताए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रवर्द्धन नगरी यो विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्ने भन्दै सबै पर्यटन व्यवसायीलाई लुम्बिनीको प्रवर्द्धन एवं प्रचारमा लाग्न आग्रह गरे।
सिद्धार्थ होटल संघ नेपाल शानका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले श्रम स्वीकृतिलगायतका समस्या यो विमानस्थलमा आउन नहुने भन्दै समाधान तुरुन्त हुनु पर्नेमा जोड दिए।
वि.सं.२०७९ जेठ ८ १३:३८




















