बजेटमा सबैको स्वाधिनता छ, मिलेर कार्यान्वयन गरौं : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबैको स्वाधिनता कायम हुने गरी सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरेर आगामी आर्थिक वर्ष ०७९–८० को बजेट सार्वजनिक गरेको बताएका छन् ।
अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।
नेपाल आर्थिक संघ र बैंक तथा बित्तीय संस्था परिसंघले अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न विषयगत क्षेत्रका सरोकारवाला, टेलिफोनबाट दुरदराजका नागरिक र रौतहटका अल्पसंख्यक परिवारदेखी कर्णालीको जनजातीसम्मलाई प्रत्यक्ष सोधेर बजेट निर्माण गरेकाले सबैको स्वाधिनता रहेको बताए ।
‘यो बजेट तपाईहरुको हो, म त केबल प्रतिनिधि मात्र हुँ’ उनले भने, ‘मेरो क्षमताले भ्याएसम्म सबैको बिषयलाई सम्बोधन गर्नेगरी बजेट बनाएको छु ।
अब यसलाई सबै मिलेर कार्यान्वयन गरौं ।’ आम जनताले स्वामित्व लिन सक्ने गरी बजेट बनाएकाले कार्यान्वयन हुने र बजेटले लिएका उदेश्य हाँसिल हुने उनले बताए । ‘संसदमा अहिले यसबारेमा विभिन्न प्रश्न उठेका छन्, बहस भइरहेका छन् । यसले बजेट कार्यान्वयनमा सघाउ पुग्ने मेरो अपेक्षा छ’ उनले भने ।
उनले कृषिलाई उत्पादन, रोजगारी र निर्यातको क्षेत्र भएकाले प्राथमिकता दिएर बजेटमा समावेश गरेको जानकारी दिए । कृषिमा संरचनागत सुधारको पहल लिएको र ढुवानीका लागि कृषि एम्बलेन्स तथा बजारका लागि संकलन केन्द्रको बिषय राखिएको उनले जानकारी दिए ।
उनले किसानलाइ उत्साहित गर्न, परिचय पत्र बितरण गर्न र कृषि पेशाप्रति आकर्षण बढाउन किसान पेन्सनको योजना अघि सारेको र यसलाई कार्यान्वयन गरेरै छाड्ने बताउनुभयो ।
बजेट बढाइएको र १२ कक्षा पास गरेका विद्यार्थी कुनै न कुनै सीपसमेत सिकेर श्रम बजारमा आउने उनको दाबी छ ।
वि.सं.२०७९ जेठ १९ १३:३०




















