back
stc
prabhu insurance

२७ अर्बको चामल र १५ अर्बको धान आयात

काठमाडौं । कृषिप्रधान देश भनेर चिनिएको नेपालमा देशको मुख्य खाधान्नका रुपमा रहेको चामल आयात बढेको देखिएको छ ।

कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु। २७ अर्ब १२ करोड एक लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा नेपालीहरूको खानेबानी परिवर्तन नहुँदा बर्सेनि धान तथा चामल आयात बढ्दै आएको छ।

नेपालमा करिव ६८ प्रतिशत भन्दा धेरै जनसंख्या कृषि पेशमा संलग्न रहेको छ। यति धेरै जनता कृषि पेशामा आवद्व भएको नेपालमा स्थानिय उत्पादनहरुले मात्रै माग धान्न नसक्दा नेपालमा वार्षिक अर्बौ रकमको चामल आयात हुने गरेको छ ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । तर स्थानीय मागले धान्न नसक्दा बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ ।

सरकारले कृषिमा आत्मनिर्भर बन्ने भएर ल्याएको कुनैपनि कार्यक्रम प्रभावकारी बन्न नसकेको देखिन्छ । नेपालमा बर्खे धान र चैते धान भन्ने दुई जातिका धान रोपिने गरिन्छ । चैते धान विशेष गरी तराई क्षेत्रमा रोपिने गर्छ ।

बर्खे धान पहाडी र तराई क्षेत्रमा धेरै रोपिन्छ । नेपालमा मोटो धान बढि रोपिन्छ भने मसिनो धान थोरै मात्रामा रोपिने गर्छ । नयाँ उन्नत जातका धानको बीउको कमि हुँदा उत्पादन फस्टाउन सकेको छैन । सरकारले मसिनो धान उत्पादन तथा क्षेत्र विस्तारमा जोड दिन सकेको छैन ।

वर्षेनी कृषि जमिन घट्दै गइरहेको छ । घट्दै गएको कृषि जमिनमा धान उत्पादन गरेर आत्मनिर्भर हुने सपना देख्नु निकै चुनौतिपूर्ण रहेको छ । खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन।

भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौँ रकम बाहिरिएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु २७ अर्ब १२ करोड एक लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ ।

त्यसबाट सरकारले रु. दुई अर्ब ५४ करोड ९२ लाख ८२ हजार बराबरको राजस्व संकलन गरेको छ । भारतबाट मात्रै रु. २६ अर्ब ९३ करोड २९ लाख १० हजार मूल्य बराबरमा ४९ करोड छ लाख ८६ हजार ९३५ केजी चामल आयात भएको छ ।

त्यस्तै मुलुकमा रु. १५ अर्बभन्दा बढीको धान आयात भएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा रु. १५ अर्ब ९२ करोड ११ लाख ७७ हजार मूल्य बराबरको ५४ करोड दुई हजार १८० केजी धान आयात भएको छ । त्यसबाट सरकारले रु. ७९ करोड ८० लाख ८७ हजार बराबरको राजस्व संकलन गरेको छ । त्यस्तै धानको बीउमात्रै रु. ८७ करोड पाँच लाख ७२ हजार बराबरको कूल ५१ लाख १५ हजार ३० केजी आयात भएको छ ।

सोह्र अर्बको मकै आयात

विभागले सार्वजनिक गरेको विवरणमा मकैको आयातमा समेत अर्बौँ रकम बाहिरिएको छ । नेपालको हावापानी अनुकूल रहने मकै खेती व्यावसायिक बन्न नसक्दा यस्ता खाद्यान्नमा अर्बौँ रकम विदेशिने गरेको पाइन्छ ।

विभागको विवरणअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु। १६ अर्ब बढीको मकै आयात भएको देखिन्छ ।

कूल ४७ करोड ५७ लाख ७३ हजार ११३ केजी मकै सो अवधिमा नेपाल भित्रिएको छ । त्यसको लागत मूल्यमात्रै रु. १६ अर्ब ७५ करोड ३९ लाख ६२ हजार बराबर रहेको छ ।

यसैगरी सोही अवधिमा एक करोड ४९ लाख ७३ हजार १९६ केजी मकैको बीउ आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।

त्यसको लागत मूल्य रु। एक अर्ब आठ करोड १० लाख २५ हजार बराबर छ । मकै तथा यसको बीउको आयातबाट सरकारले रु.९३ करोड ३० लाख २२ हजार बराबरको राजस्व संकलन गरेको छ ।

पाँच अर्बको गहुँ आयात

विभागको विवरणअनुसार गहुँको आयात पनि उस्तै छ । एघार महिनाको अवधिमा मात्रै रु। पाँच अर्ब ६३ करोड नौ लाख ४५ हजार बराबरको १७ करोड पाँच लाख १७ हजार ९७३ केजी गहुँ आयात भएको पाइएको छ ।

त्यस्तै कोदोको बीउ ११ लाख ४४ हजार ५४२ केजी रु. तीन करोड ८२ लाख ६६ हजार मूल्य बराबरको आयात भएको छ । यस अवधिमा एक करोड ७९ लाख २५ हजार ६०९ केजी बराबरको जौ रु.१ अर्ब २१ करोड ८६ लाख ४८ हजार मूल्य बराबरमा आयात भएको छ ।

त्यस्तै रु. तीन करोड ८२ लाख ६६ हजार मूल्यमा ११ लाख ४४ हजार ५४२ केजी कोदो आयात भएको छ । विभागका अनुसार यस अवधिमा रु. १८ लाख २७ हजार मूल्यमा २७ हजार १२९ केजी फापर पनि आयात भएको छ ।