गठबन्धन सरकारले मधेस द्रुतमार्ग र निजगढ विमानस्थललाई प्राथमिकतामा राखेको छ: देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्।
विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिबार बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ विमानस्थल बनाउने काम सरकारको प्राथमिकतामा रहने बताए।
तराई मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएको आयोजना भएको उनको भनाइ छ।प्रधानमन्त्री देउवाले दुवै आयोजना निर्माण नरोकिने बताए। देउवाले गठबन्धन सरकारले द्रुतमार्ग र विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेको प्रष्टाए।
‘विमानस्थलकै कारण द्रुतमार्ग निर्माण भएको हो। त्यसैले दुवै आयोजना बन्नुपर्छ। त्यसैले गठबन्धन सरकारको प्राथमिकता भनेको द्रुतमार्ग बनाएर प्लेन ल्याण्ड गराउने हो।’
प्रधानमन्त्री देउवासँगै आएका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि द्रुतमार्ग बनाउनुको औचित्य विमानस्थलसँग जोडिएको भन्दै विमानस्थल बनाउनु पर्ने बताए। समयमै विमानस्थल नबने राज्यको अर्बौँ लगानी खेर जाने प्रचण्डको भनाइ छ ।
प्रचण्डले देशको अर्थतन्त्रका लागि निजगढ विमानस्थल ‘गेम चेन्जर’ प्रोजेक्ट रहेको र प्रधानमन्त्री पनि विमानस्थल निर्माणका लागि सकारात्मक देखिएको बताए। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि विमानस्थल निर्माण रोकिन नहुने बताए।
प्रधानमन्त्री देउवाको नेतृत्वमा आएको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरणमन्त्री रामसहाय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, खानेपानी मन्त्री उमाकान्त चौधरी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत सहभागी थिए। टोलीले जीतपुर–सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हबी नगरपालिकाका जनप्रतिनिधिसँग छलफल समेत गरेका थिए।
वि.सं.२०७९ असार १८ १४:०५




















