back
stc
prabhu insurance

यस्तो छ चिनियाँ विदेश विभागका प्रमुख लिउको भ्रमण कार्यक्रम

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेतृत्वको सात सदस्यीय टोली आज बिहान ९:५५ बजे काठमाडौं आइपुगेको छ । टोली बत्तिसपुतलीस्थित होटल द्वारिकामा बसेको छ ।

लिउ टोलीले आजै दिउँसो ३ बजे बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । त्यसपछि उनीहरुले सिंहदरबारमा परराष्ट्र मन्त्री डा. नारायण बहादुर खड्कासँग साढे ४ बजे भेट गरेका छन ।

परराष्ट्र मन्त्रालयमा भेटघाटपछि चिनियाँ नेता लिउको सम्मानमा परराष्ट्र मन्त्री डा।खड्काले साँझ होटल मेरियटमा रात्रीभोज कार्यक्रम दिएका छन।

भोलि बिहान चिनियाँ पाहुना टोली साँढे ९ बजेदेखि सवा १० बजेसम्म सुन्दरीजलस्थित विपी संग्रहालयको अवलोकन भ्रमणमा जानेछ । त्यहाँबाट फर्केपछि शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा सहभागी हुनु बताइएको छ ।

भोलि असार २७ गते अपरान्ह ४ बजेदेखि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होटल सोल्टीमा भेटघाट कार्यक्रम राखिएको छ । त्यसपछि सोही होटलमा चिनियाँ विदेश विभाग प्रमुख लिउको सम्मानमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रात्रीभोज आयोजना गर्ने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणको तेस्रो दिन चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुखले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग उहाँकै निवास बालकोटमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म भेटघाट गर्नेछन ।

ओली निवासमा लन्च खाने छन। सोही दिन अपरान्ह ४ बजेपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

भ्रमणको अन्तिम दिन बुधबार बिहान चिनियाँ पाहुना टोली बिहान ९ बजे बुढानीलकण्ठ नगरपालिका जाने कार्यक्रम रहेको छ ।

त्यहाँ एमाले काठमाडौं जिल्ला कमिटी पूर्व अध्यक्ष कृष्ण बहादुर राईसँग समेत भेटेपछि टोली सोझै शीतल निवास झरेर बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने बताइएको छ ।

दिउँसो पौने ३ बजेदेखि साढे ३ बजेसम्म नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन नेवाः मुक्ति मोर्चाका सचिव उमेश स्थापितलाई भेटेपछि दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म भूकम्पबाट क्षतिपछि पुनर्निर्माण गरिएका विभिन्न संरचनाको निरीक्षण गर्ने क्रममा चिनियाँ पाहुना टोली भक्तपुर पुग्ने छ । यसरी चार दिनको भ्रमण पूरा गरि चिनियाँ टोली आगामी बुधबार राति सवा ११ बजे स्वदेश फर्किने परराष्ट्र स्रोतले बताएको छ ।