back
stc
prabhu insurance

आज बुधबार भदौ ८ गतेबाट खप्तड लघुवित्तको आइपीओमा आवेदन खुला

काठमाडौं । खप्तड लघुवित्तको आज बुधबार भदौ ८ गते कार्यालय समयबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ ।

लघुवित्तले १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यस अनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ । यो मध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २२ गतेसम्म पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय २० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आइपीओ भर्न सक्नेछन् ।

यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले खप्तड लघुवित्तलाई ‘केयर एनपी इस्यूअर रेटिङडबल बी माइनस’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । केयर नेपालले सन् २०२२ अप्रिल ७ मा यो रेटिङ दिएको हो । यो रेटिङ सन् २०२३ अप्रिल ३ सम्म बाहल रहनेछ ।