back
stc
prabhu insurance

साल्ट ट्रेडिङ कर्पोरेशनले १० हजार टन चिनी खरिद गर्ने

काठमाडौं । चाडपर्व नजिकिएसँगै सरकारी निकाय साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग चिनीको मौज्दात सकिएको छ।

सरकारले गत वर्ष सहुलियत दरको चिनी आयात गर्न स्वीकृत नदिएपछि दुई महिना अघिदेखि कर्पोरेसनले चिनी बेचेको छैन।

दशैं,तिहार र छठपर्वका बेला चिनीको अभाव नहोस र मूल्य बढन नपावस भनेर कर्पोरेसनले १० हजार टन चिनी खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

दशैंको मुखमा चिनीको मुल्य बढदै गएको थियो। कर्पोरेशनले चिनी खरिद गर्ने भएपछि अब धेरै मूल्य नबढने र उपभोक्ताले पनि राहत पाउने भएका छन ।

लिमिटेडका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार दुई महिनाअघि नै चिनीको मौज्दात सकिएको थियो ।

स्टक चिनी सकिएको र खरिद गर्न प्रक्रिया पनि रोकिएको थियो । स्टक चिनी दुई महिनाअघि नै सकिएको थियो । अहिले चिनी स्टक छैन । चिनी खरिद गरेर बिक्री गर्नका लागि अर्थ मन्त्रालयमा प्रस्ताव रोकिएकाले समस्या भएको छ ।

चिनी सकिँदा दशै, तिहार र छठ पर्वमा चिनीको मूल्य केही बढ्ने देखिएको छ । कर्पोरेसनसँग मौज्दात चिनी सकिएको र खरिद प्रक्रिया पनि सुरु नभएकाले कर्पोरेसनले कहिलेसम्म चिनी नेपाल ल्याउन सक्छ भन्ने यकिन भएको छैन ।

खरिद प्रक्रिया अन्यौल रहेकाले कहिलेसम्म नेपालमा चिनी आउने यकिन छैन सुचना अधिकारी राजभण्डारीले बताए ।

कर्पोरेसनले आन्तरिक उत्पादनको चिनी खरिद गर्न खोजेको थियो तर चिनी मिलहरूले बिक्री गर्न नचाहेका कारण अन्तर्राष्ट्रिय टेण्डरबाटै खरिद गर्ने भएको छ ।

बजारमा चिनीको अभाव हुँदा व्यापारीले कालोबजारी गर्न सक्ने हुँदा सरकारले बेलैमा चिनीको खरिद गर्नुपर्ने देखिन्छ ।

खाद्य व्यवस्था तथा  व्यापार  कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले १० हजार टन चिनी खरिदका लागि कम्पनीले प्रस्ताव गरे पनि अहिलेसम्म स्वीकृत नपाएको बताइन ।

कम्पनीले १० हजार टन चिनी खरिदका लागि आपूर्ति मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा पठाएको प्रस्तावको अहिलेसम्म टुङ्गो लागेको छैन ।

चाडपर्वका लागि खरिद गर्नुपर्ने चिनीको प्रक्रिया केही ढिलाई हुनसक्ने भएकाले चाँडै नै प्रस्ताव पारित हुने आशा रहेको सुवेदीले बताइन।

चाडपर्व नजिकी सके, बजारमा कृत्रिम अभाव सिर्जना हुनसक्ने अबस्था आउन सक्छ । यसकारण चाँडै उक्त प्रस्ताव पारित भएमा खरिद प्रक्रियामा जान सहज हुने कम्पनीको भनाइ छ।

अन्तर्राष्ट्रिय टेण्डरबाट चिनी खरिद गर्न पनि धरै प्रक्रियाहरु पूरा गर्नुपर्ने भएकाले अबको केही दिनमै प्रस्ताव स्वीकृत नहुने हो भने दशैं भन्दा अगाडि चिनी नआउन सक्छ ।

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । अहिले बजारमा चिनीको फुटकर मूल्य प्रतिकेजी ११० रुपैयाँ पर्छ ।

चाडपर्वमा खाद्य कम्पनी र साल्ट ट्रेडिङ् कर्पोरेसनले मूल्य समायोजन गर्न भन्सार छुटमा ल्याएर चिनी बिक्री गर्ने गरिएको थियो । अहिले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर चिनी ल्याउने तयारीमा खाद्य कम्पनी लागेको छ ।

खसीबोका तथा च्याङ्ग्रा खरिद गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं तिहारका लागि आवश्यक पर्ने खसी बोका तथा च्याङ्ग्रा पनि खरिद गर्नेभएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि तीन हजार खसी(बोका र च्याङग्रा ल्याउने प्रस्ताव सञ्चालक समितिमा पेश गर्न लागेको छ ।

हरेक वर्ष दशैंमा कम्पनीले खसी(बोका र च्याङग्रा खरीद गरेर सुपथ मूल्यमा काठमाडौं उपत्यकाका उपभोक्तालाई बेच्दै आएको छ ।

गत आर्थिक वर्षमा कम्पनीले तीन हजार खसि(बोका र च्याङग्रा खरिद गर्ने भनेको थियो। तर च्याङग्राको खरीद मूल्य धेरै भएकाले कम्पनीले १ हजार ९ सय ५९ खसी(बोका मात्र खरिद गरेर उपत्यकामा बिक्री गरेको थियो ।

कम्पनीले यस वर्ष दुई हजार खसी–बोका र एक हजार च्याङग्रा खरीद गर्ने तयारी गरेको छ। खरीदका लागि कम्पनीले छिट्टै बजेट छुट्याउने भएको छ ।

यो बर्ष तीन हजारको हाराहारीमा खसी, बोका, च्याङ्ग्रा ल्याउने तयारी कम्पनीको रहेको छ । त्यसका लागि केही दिनमै बजेट छुट्याउछौँ सुवेदीले बताइन ।

कम्पनीले बजारमा खसी, बोका, च्याङ्ग्राको मूल्य समायोजन गर्न खरिद गरेर बिक्री गर्ने गरेको छ । गत वर्ष तीन करोड ७१ लाख रुपियाँ छुट्याएको थियो । गत साल कम्पनीले खसी बोका प्रतिकेजी ६५० रुपियाँमा बिक्री गरेको थियो ।