back
stc
prabhu insurance

डिजेल र मट्टीतेलमा ६/६ रूपैयाँ मूल्य बढयो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टीतेलको मूल्य हिजो राती १२ बजेदेखि प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले भदौ १६ गते बिहीबार अर्थात सेप्टेम्बर १ मा भाउ बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले यहाँ पनि बढाउने निर्णय गरेको छ । नयाँ मूल्यसूची बिहीबार राति १२ बजेदेखि लागू भएको छ ।

नयाँ मूल्य अनुसार डिजेल प्रतिलिटर रू.१७८ र मट्टीतेल रू.१७८ पर्नेछ । त्यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।

मूल्य समायोजन पश्चात् निगमलाई १५ दिनमा ३० करोड ५२ लाख रूपैयाँ नोक्सान हुने जनाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले सेप्टेम्बर महिनाको १५ गतेसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

नेपाल आयल निगमलाई आईओसीले भदौ १६ गते बिहीबार पठाएको नयाँ मूल्यसूची अनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १.४० रुपैयाँ बढेर आएको छ भने डिजेलको मूल्य प्रति लिटर ६.१२ रुपैयाँ बढेर आएको छ । त्यस्तै हवाई इन्धन ८ रुपैयाँले बढेर आएको छ ।

यस्तै यस पटक खाना पकाउने एलपीजी ग्यासको मूल्य भने प्रति सिलिन्डर १२० रुपैयाँ घटेर आएको नेपाल आयल निगमले जनाएको छ।