कर्जा सम्बन्धी प्रावधानमा परिसंघको आपत्ति
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी प्रावधानप्रति आपत्ति जनाएको छ ।
राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ का प्रावधानले नेपालमा औद्योगिक तथा व्यवसायिक वातावरण नबन्ने र भएको वातावरण समेत विग्रन उसको ठहर छ ।
जारी मार्गदर्शनले स्वदेशी तथा मेक इन नेपालजस्ता नेपाल सरकारसमेतको स्वामित्व रहेका अभियानलाई समेत प्रतिकूल असर गर्ने उसकोे ठम्याइ छ ।
औद्योगिक वातावरण तयार गर्न र सञ्चालनमा रहेका उद्योगलाई सहजिकरण गर्न परिसंघले सुझाएका अन्य विविध विषय छुट भएकोतर्फ पनि उसले केन्द्रीय बैंकको ध्यानाकर्षण गराएको छ ।
कोभिड तथा अन्य कारणले अर्थतन्त्र शिथिल बनेको समयमा औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जाको सीमा नै घट्ने गरि आएको यस नीतिले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले यस अघि तय गरेको औद्योगिक वातावरण निर्माण गर्ने नीतिलाई नै प्रतिकूल असर गरेको भनाइ छ ।
राष्ट्र बैंकबाट साना व्यवसाय तथा व्यापार सहज देखिने तथा ठूला एवं मझौला उद्योगलाई प्रभाव पार्ने गरि यो मार्गदर्शन आएको परिसंघको विश्लेषण छ ।
वि.सं.२०७९ भदौ १७ १८:५९



















