back
stc
prabhu insurance

बैंकको निक्षेपमा लगातार वृद्धि

काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेपमा देखिएको वृद्धि असोजको पहिलो साता पनि कायमै रहेको छ ।

निक्षेप आकर्षित गर्न बैंकहरूले शुरू गरेको लामो अवधिको मुद्दती निक्षेप योजना, असोजमा भएको ब्याजदर वृद्धि तथा विप्रेषण आप्रवाह सकारात्मक हुँदा बैंकहरूको निक्षेपमा लगातार वृद्धि भएको हो ।

नेपाल बैंकर्स संघका अनुसार असोज पहिलो साता वाणिज्य बैंकहरूको निक्षेप २६ अर्ब १४ करोड रुपैयाँले बढेको छ ।

भदौ मसान्तसम्ममा बैंकहरूमा कुल ४४ खर्ब ८५ अर्ब ५१ करोड रुपैयाँ निक्षेप रहेकोमा असोज ७ गतेसम्ममा बढेर ४५ खर्ब ११ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

चालू आर्थिक वर्षमा भदौको पहिलो सातासम्म निक्षेप निरन्तर घटेको थियो । भदौ दोस्रो सातायता भने लगातार बढिरहेको छ । भदौ महीनाभरिमा बैंकहरूको निक्षेप ५२ अर्ब रुपैयाँले वृद्धि भएको संघले जानकारी दिएको छ ।

बैंकहरूको निक्षेप बढ्नुको कारण नयाँ–नयाँ निक्षेप योजना, ब्याजदर र रेमिट्यान्स वृद्धिलाई मानिएको छ ।

पछिल्लो समय बैंकहरूले शुरू निक्षेपको १० गुणासम्म दिनेगरी २१ वर्ष अवधिसम्मको मुद्दती योजना सार्वजनिक गरेका छन् । मुद्दती निक्षेप योजनामा बैंकबीच प्रतिस्पर्धा चलिरहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।