साल्ट ट्रेडिङ कर्पोरेसनले पोखरामा नुनमात्र बेच्ने
पोखरा । सुपथ मूल्यको सामान बेच्न सरकारले सन्चालन गरेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको गण्डकी प्रदेश कार्यालयले यस वर्ष नून मात्रै बेच्ने भएको छ ।
साल्ट ट्रेडिङका अन्य शाखाहरुले उपभोग्य सामग्री सस्तोमा बेचिरहेका बेला पोखराले भने नून बेच्ने भएको छ ।
दसैं, तिहार र छठ पर्वका लागि हरेक वर्ष साल्ट ट्रेडिङले सुपथ सामग्री बेच्ने गर्दै आएको छ । यसअघि खसी–बोकादेखि चामलसम्म विक्री गरेको साल्ट ट्रेडिङले अहिले नून मात्रै बेच्न लागेको छ ।
चिनी र अन्य सामान आयात नहुँदा नून मात्रै बेच्न लागिएको कार्यालय प्रमुख बासुदेव उपाध्यायले बताएका छन ।
प्रतिकिलो नूनको मूल्य १८ रुपैयाँ छ । प्रत्येकले ६ किलोका दरमा नून खरिद गर्न सक्ने उपाध्यायले बताए । ‘पहिले सुपथ मूल्यका पसल चलाएका थियौं ।
अहिले नून मात्रै आयात भयो । चिनी र अरु सामान आएन,यो दसैंमा नून मात्रै बेच्छौं ।’ उनले भने। अघिल्लो वर्ष ३ किलो नून र ३ किलो चिनी विक्री गरेको थियो ।
त्यसअघि चामल, गेडागुडी, नून, तेल, चिनी, साबुन लगायत दैनिक उपभोग्य बस्तुहरु विक्री गर्दथ्यो। बजारमा नै सामान सजिलै पाइने भएकोले आफूहरुले अन्य खाद्य सामग्रीमा जोड नगरेको उपाध्यायले बताए ।
चाडपर्वमा बजारमा महंगो हुने भएकोले कर्पोरेसनले सामान बेच्दा उपभोक्ताको विश्वास पाएको उनले बताए।
वि.सं.२०७९ असोज १३ ११:५९



















