नेपाल राष्ट्र बैंंकले निक्षेपमा छपन्न करोड रुपियाँ लगानी गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंंकले बैंंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा ५६ करोड रुपियाँ लगानी गर्ने भएको छ ।
राष्ट्र बैंंकले उपदान तथा पेन्सन कोषमा रहेको ५६ करोड रुपियाँ वाणिज्य बैंंक, विकास बैंंक र फाइनान्स कम्पनीमा एक वर्ष अवधि (३६७ दिन) का लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
आगामी कात्तिक ३ गतेदेखि २०८० कात्तिक ४ गतेसम्म मुद्दती राख्न लागेको राष्ट्र बैंंकले ‘क’ वर्गका वाणिज्य बैंंकमा ४४ करोड ८० लाख रुपियाँ, ‘ख’ वर्गका विकास बैंंकमा आठ करोड ४० लाख रुपियाँ र ‘ग’ वर्गका वित्त कम्पनीमा दुई करोड ८० लाख रुपियाँ लगानी गर्न लागेको हो ।
निक्षेप लिन चाहने बैंंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी यही असोज २४ देखि २६ गतेसम्म बोलकबोल पेस गर्नुपर्ने राष्ट्र बैंंकले जनाएको छ ।
मुद्दती निक्षेपको ब्याज बैंंक तथा वित्तीय संस्थाले मासिक रूपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंंकले जनाएको छ ।
राष्ट्र बैंंकले निक्षेप लिनका लागि बैंंक तथा वित्तीय संस्थाहरूका लागि केही सर्तसमेत तोकेको छ । न्यूनतम पुँजी कोष कायम गरेको, सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, निक्षेप लिनका लागि खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने राष्ट्र बैंंकको सर्त छ ।
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंंकले समय–समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको हुनुपर्ने सर्त राष्ट्र बैंंकले राखेको छ ।
वि.सं.२०७९ असोज २५ ०८:२७




















