अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाए
काठमाडौं । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार असोज ३० गते १ डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ ०७ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३१ रुपैयाँ ४७ पैसा कायम भएको छ ।
जुन हालसम्मकै उच्च विन्दु हो । यसअघि शुक्रबार असोज २८ गते १ डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ ०६ पैसा र खरिददर १३१ रुपैयाँ ४६ पैसा कायम भएर हालसम्म कै उच्च विन्दुमा पुगेको थियो ।
पछिल्लो समय डलर मजबुत बन्दा अन्य मुद्राहरुमा दबाब परेको छ । डलरको तुलनामा भारतीय मुद्रा (भारु) पनि इतिहासकै कमजोर बनेको छ ।
भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।
विशेषगरी, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदरमा निरन्तर वृद्धि गरेपछि डलर मजबुत बनेको छ ।
यसले विकासशील राष्ट्र तथा नेपाल जस्ता आयातमुखी अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ ।
डलर मजबुत बन्दा निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।
वि.सं.२०७९ असोज ३० ०७:४१




















