काठमाडौं ५ मा प्रदीप पौडेल र इश्वर कडा प्रतिस्पर्धा
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदे सभा निर्वाचनका लागि मत माग्न उम्मेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
निर्वाचन आयोगले प्रचारप्रसार खुला गरेसँगै काठमाडौं क्षेत्र नं ५ मा पनि उम्मेदवार मतदाताकाका घरदैलोमा आ(आफ्ना चुनावी प्रतिवद्धता सहित पुगेका छन् । निर्वाचनको प्रचारप्रसारले यो क्षेत्रमा पनि अहिले चहलपहल बढेको देखिन्छ ।
आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यको लागि काठमाडौं ५ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
एमालेबाट पोखरेल एक्लै चुनावी मैदानमा छनभने पौडेललाई गठबन्धनको समर्थन रहेको छ । सो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका २,३,४,५ गरि चार वटा वडाहरू, बूढानीलकण्ठ नगरपालिकाका ३,४,५,६,७ वडा गरि ५ वटा वडाहरू र टोखा नगरपालिकाका २,३,४,५,६,७ वडा गरि ६ वडाहरू रहेका छन् ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने १५ वडामा एमालेले ११, कांग्रेसले ३ र स्वतन्त्र एउटा वडामा विजयी भएका छन् ।
स्थानीय तहको चुनावको परिणामलाई हेर्दा एमालेका वडाध्यक्षले कूल १७ हजार नौ सय ५२, कांग्रेसका वडाध्यक्षले १२ हजार पाँच मत प्राप्त गरेका छन् ।
एकीकृत समाजवादीले एक हजार आठ सय ३९ र माओवादी केन्द्रले सात सय २० मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनमा आबद्ध तीन दलले प्राप्त गरेको मतभन्दा एमाले तीन हजार तीन सय ८८ मतान्तरले अगाडि देखिन्छ ।
विसं २०७४ निर्वाचनमा एमालेका उम्मेदवार इश्वर पोखरेल र कांग्रेसका उम्मेदवार डा।प्रकाशशरण महत बिच भएको प्रतिस्पर्धामा पोखरेल विजयी भएका थिए ।
सो क्षेत्रमा अहिले एमाले एक्लै चुनावी मैदान रहेकोले गठबन्धनको साथले कांग्रेसका उम्मेदवार पौडेल चुनाव जित्ने दाउमा छनभने पोखरेल आफ्नो जितलाई कायम राख्ने कसरतमा छन् ।
प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र नं १ मा ३१ मतदानस्थल र ८१ मतदान केन्द्रबाट कूल ७० हजार नौ सय १९ मतदाता रहेका छन् । जसमध्ये महिला ३७ हजार एक सय २५ र पुरुष ३३ हजार सात सय ९१ मतदाता रहेका छन् ।
देशकै राजधानी काठमाडौं र यससँग जोडिएको काठमाडौंको क्षेत्र नं। ५ मा आसा लाग्दा युवा नेता प्रदीप पौडेलले प्रतिनिधि सभाको सदस्यका लागि बलियो दाबेदारी प्रस्तुत गरेका छन् ।
विद्यार्थी राजनीतिबाट उदाएका पौडेलले राजनीतिक यात्रा निकै अगाडि बढाइसकेका छन् । उनी नेविसंघका पुर्व अध्यक्ष हुन। यसअघि कांग्रेसको केन्द्रीय सदस्य भएका पौडेल पछिल्लो महाधिवेशनमा भने महामन्त्रीका उम्मेदवार थिए ।
उनले क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोखरेललाई चुनौती दिएका छन् । पोखरेल २०६४ यताको निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुँदै आएका छन् ।
कांग्रेसमा हाल संस्थापन पक्षका भए पनि पौडेलले युवालाई राजनीतिक अवसरको पक्षमा जहिल्यै पनि आवाज बुलन्द पार्दै आएका छन् । कांग्रेसमै पनि विधिविधान र लोकतान्त्रिक पद्धति कायम गर्ने विषयमा उनले स्पष्ट धारणा राख्दै आएका छन् । त्यसैले संस्थापन पक्षजस्तो देखिए पनि पौडेल कांग्रेसमै बेलाबेलामा विद्रोही नेता जस्ता देखिन्छन् ।
कांग्रेसले इतिहास र विरासत भनेर मात्र नहुने, चुनाव जित्न एजेण्डा चाहिनेमा जोड दिँदै आएका पौडेल उक्त क्षेत्रमा पोखरेलको विरासत भंग गर्ने दाउमा छन् ।
तनहुँका पौडेल २०७४ को निर्वाचनमा सोही जिल्लाबाट प्रदेश सभा उम्मेदवार बनेका थिए । तर, माओवादी केन्द्रकी उम्मेदवार आशा कोइरालासँग ५ मतले पराजित भएका थिए । प्रतिनिधि सभाको चुनाव उनको लागि पहिलो अनुभव थियो ।
पौडेलले आफ्ना मतदातासमक्ष भोट माग्दै राजधानी र राजनीति दुवै सफा गर्ने संकल्प गर्दै आएका छन् । यस क्षेत्रको शिक्षा र स्वास्थ्यको हब, आईटीको विकाससहितको रोजगारी, पर्यटन र समग्र विकास साथै राष्ट्रिय राजनीतिको नयाँ चित्र कोर्ने अवसर प्रदान गरेको उल्लेख गरेका छन् ।
काठमाडौंलाई विकास मात्र होइन, व्यवस्थित विकास आवश्यक छ । पर्यावरणमैत्री राजधानी हामी सबैको चाहना हो । यसैगरी राजनीतिक निष्ठा र इमानदारितामाथि उठेका प्रश्न र राजनीतिप्रति घट्दै गएको विश्वासले आमनिराशा छाएको छ । त्यसकारण मेरो संकल्प छ– म राजधानी सफा गर्छु, म राजनीति सफा गर्छु उनले आफ्नो अपिलमा भनेका छन् ।
नेता पौडेलले आफूलाई प्राप्त भएको अवसर खेर नफाल्ने प्रतिबद्धता पनि जनाएका छन् । परिवर्तनसहितको राजनीतिक संस्कार र संस्कृति स्थापित गर्छु भनेर विद्यार्थी राजनीतिबाट देशको सक्रिय राजनीतिमा होमिएको हुँ ।
मेरा नातागोता, पारिवारिक सदस्य र व्यापार व्यावसाय फस्टाउँछ भनेर राजनीतिमा हामफालेको होइन । राजनीतिक इमान र परिवर्तन सम्भव छ भन्ने बुझेर नै मैले सक्रिय राजनीतिक जीवन रोजेको हुँ पौडेलले भने।
वि.सं.२०७९ कात्तिक २० १७:०६




















