back
stc
prabhu insurance

बिहेको सिजन सुरु भएसँगै बजारमा सुनचाँदीको कारोबार बढे

काठमाडौँ । बिहेको सिजन सुरु भएसँगै बजारमा सुनचाँदीको कारोबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले लगनको सिजन सुरु भएकाले सुनचाँदीको कारोबार बढ्दै गएको जानकारी दिनुभयो । अन्य समयको तुलनामा कारोबारमा ५० प्रतिशतले वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।

मङ्सिर महिनामा बिहेका धेरै लगन भएका कारण सुनको कारोबारमा वृद्धि भएको हो । यसले गर्दा सुनचाँदी पसलमा गहना किनमेल गर्ने ग्राहकको भीडभाड लाग्न थालेको हो । मङ्सिर महिना बिहेको सिजन भएकाले पनि नयाँ गहना किने ग्राहकको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।

बजारमा दैनिक ३० देखि ३५ किलो सुनको माग रहेको व्यवसायीले बताएका छन् । अरू समयको तुलनामा अहिले सुनको दोब्बर कारोबार हुने गरेको व्यवसायीको भनाइ छ ।

बजारमा सुनको माग बढ्दै गए पनि आपूर्ति दैनिक १० किलो मात्र हुँदा अभाव कायम रहेको शाक्यले जानकारी दिनुभयो । सुनको माग बढे पनि आपूर्ति न्यून हुँदा ग्राहकको अर्डर होल्ड गरेर सामान उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो ।

नेपाल राष्ट्र बैङ्कले गत वैशाखदेखि दैनिक २० किलो सुनको कोटा घटाएर १० किलोमा झारेको थियो । ग्राहकको मागअनुसार सामान उपलब्ध गराउन नसकेकाले सुनको कोटा बढाउन माग गरिएको महासङ्घले जनाएको छ ।

पछिल्लो समय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव आएको छ । बिहीबार बजारमा सुनको मूल्य प्रतितोला ९११।६४ ग्राम० ९८ हजार एक सय रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ३३० रुपियाँमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार प्रतिऔँस ९३१ ग्राम० सुनको मूल्य एक हजार ७५३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २१ दशमलव २५ डलर कारोबार भएको छ ।