शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जीतेन्द्रप्रसाद गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जीतेन्द्रप्रसाद गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नगर प्रमुख गुप्ता र नगरपालिकाका इञ्जिनीयर रामचन्द्र साहबीचको आपसी मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनाका लागि सेवाग्राहीसँग एक लाख ४० हजार घुस लिएको पुष्टि हुन आएकाले आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
नगरप्रमुख गुप्ता र इञ्जिनीयर साहमाथि विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उप दफा (१) को कसुरमा आरोपपत्र दायर गरेसँगै नगरप्रमुख गुप्ता निलम्वित भएका छन् ।
अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत माघ ३ गते इञ्जिनीयर साहलाई रु एक लाख ४० हजार रुपैयाँ घुस लिइसकेको भन्दै नियन्त्रणमा लिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार इञ्जिनीयर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगर प्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
दुवैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो एक लाख ४० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम कैद र बिगोबमोजिम जरिवानाको माग दाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विशेषमा आरोपपत्र दायर भएसँगै स्वतःनिलम्वित भएका नगर प्रमुख गुप्ता निलम्वित भएका छन् ।
यसअघि राजविराज नगरपालिकाका नगर प्रमुख भीमराज यादवमाथि विशेष अदालतमा भ्रष्टाचारको आरोपमा अख्तियारले आरोपपत्र दायर गरेपछि उनीसमेत निलम्वित भएका थिए ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ मा उक्त ऐन अन्तर्गतको कसुरको आरोपको सम्बन्धमा कुनै व्यक्तिउपर भएको अनुसन्धान र तहबाट निजले सो कसुर गरेको हो भन्ने विश्वास गर्नुपर्ने मनासिव कारण भएमा अनुसन्धान अधिकारीले भ्रष्टाचार सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न प्रचलित कानुन बमोजिम अधिकार प्राप्त मुद्दा हेर्ने अधिकारीसमक्ष मुद्दा दायर गर्ने व्यवस्था छ ।
सोही ऐनको दफा ३३ मा कुनै राष्ट्रसेवक दफा २८ को उपदफा १ को खण्ड (ग) दफा ३० को उपदफा (३) तथा दफा ३१ बमोजिम थुनामा रहेको भए त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा ३६ बमोजिम मुद्दा दायर भएकामा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतःनिलम्वनमा रहने व्यवस्था छ ।
सोही व्यवस्थाबमोजिम शम्भुनाथ नगरपालिकाका नगर प्रमुख गुप्तामाथि भ्रष्टाचार आरोपमा आरोपपत्र दायर हुनेबित्तिकै निलम्वन परेका छन् ।
वि.सं.२०७९ फागुन १८ ०७:१५




















