back
stc
prabhu insurance

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पारित

काठमाडौँ। सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी विधेयक पारित गरेको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन अनुसार प्रतिनिधि सभाले बुधबार विधेयक पारित गरेको हो । गत असोज २४ गते नै समितिले प्रतिवेदन पारित गरे पनि अघिल्लो अधिवेशनमा पारित हुन सकेको थिएन । चालु अधिवेशनमा प्रतिनिधि सभाले पारित गरेको यो पहिलो विधेयक हो ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण र व्यावसायिक वातावरण प्रवर्धनका लागि भन्दै सरकारले १९ कानुन एकै पटक संशोधन अघि बढाएको थियो ।

अघिल्लो संसद्मा पनि उक्त विधेयक सरकारले ल्याएको थियो । तर विधेयक पारित नभई प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै निष्क्रिय भएको थियो ।

नयाँ संसद्मा सरकारले सुरुवातबाटै विधेयक अघि बढाएको थियो । विधेयकले नेपाल राष्ट्र बैङ्क ऐन, सहकारी ऐन, बिमा ऐन, मालपोत ऐन, पर्यटन ऐनलगायत १९ ऐन संशोधन अघि बढाइएको थियो ।

सरकारले प्रस्ताव गरेको विधेयकमा समितिले केही मुख्य परिवर्तन गरेको छ । सहकारीमा बचतको सिलिङ तोक्ने सरकारको प्रस्ताव समितिले हटाएको छ ।

सहकारी ऐन २०७४ को दफा ५२ संशोधन गरेर सरकारले विधेयकमा व्यक्तिगत बचत सीमा २५ लाख रुपियाँमा नबढ्ने व्यवस्था प्रस्ताव गरेको थियो । तर समितिले उक्त व्यवस्था हटाएको छ । उक्त व्यवस्था हटाउन नेकपा (एमाले), माओवादी केन्द्रलगायतका सांसदको संशोधन थियो ।

यस्तै समितिले अन्तर्राष्ट्रिय सीमाबाट कम्तीमा पाँच किलोमिटर दुरीमा मात्र क्यासिनो सञ्चालन अनुमति दिने व्यवस्था गरेको छ । सोही व्यवस्था सभाले पनि पारित गरेको छ ।

सरकारले तीन किलोमिटरको दुरीको प्रस्ताव गरेको थियो । यस्तै एक कम्पनीले एकभन्दा बढी क्यासिनो सञ्चालन अनुमति नपाउने व्यवस्था पनि पारित विधेयकमा छ ।

सहकारी अनुगमनसम्बन्धी सुपरिवेक्षणको व्यवस्था पनि विधेयकमा परिमार्जनसहित पारित भएको छ । २५ करोड रुपियाँभन्दा कम कारोबार हुने र २५ करोडभन्दा बढी सेयर कारोबार भएको सहकारीको अनुगमन तथा निरीक्षण राष्ट्र बैङ्कले गर्ने व्यवस्था सरकारले प्रस्ताव गरेकोमा पारित विधेयकले ५० करोड रुपियाँ पु¥याएको छ ।