back
stc
prabhu insurance

पोखरामा पनि छठ पर्व मनाइँदै

पोखरा। नेपालको तराई मधेसमा धुमधामका साथ मनाइने छठ पर्वको रौनक पहाडी जिल्ला कास्कीको पोखरामा समेत सुरु भएको छ। विगतका वर्षमा जस्तै यस वर्ष पनि पोखरामा छठ हर्षोल्लासका साथ मनाउन लागिएको छ।

रोजगारी तथा व्यापार व्यवसायका लागि स्थायी तथा अस्थायी रुपमा पोखरामा बसोबास गर्ने तराई मधेसका नागरिकहरुले छठ पर्वलाई भव्यताका साथ मनाउनका लागि पोखराका विभिन्न चार स्थानमा छठ पूजाको तयारी गरेका हुन्।

पोखरा नदीपुरस्थित नारायणथान मन्दिर परिसर, फेवाताल किनारस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसर, सेतीनदी र कालीखोलाको त्रिवेणी धाम र कमल पोखरीमा छठ पूजाको व्यवस्था गरिएको छ।

पोखरामा नेपालको तराईका जिल्लाका साथै भारतबाट व्यापार तथा रोजगारीका लागि बसोबास गर्दै आइरहेकालाई यही नै धुमधामका साथ छठ पर्व मनाउने वातावरण मिलाइएको नारायणथान मन्दिरस्थित छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताले बताए।

‘केही वर्षदेखि पोखरामा समेत छठ पर्वको छुट्टै रौनक देखिन थालेको छ। यस वर्ष पनि धुमधामका साथ छठ पर्व मनाउनका लागि सबै तयारी गरिसकेका छौँ। छठ पूजास्थलको सरसफाइ, रङरोगन, बत्ती जडान तथा टेण्ट हालेर भक्तजनहरुलाई सजिलो बनाएका छौँ,’ गुप्ताले भने।

पोखरामा पाँच हजार जनाले छठ पूजा गर्ने अनुमान गरिएको छ। पर्व धुमधामका साथ मनाउनका लागि छठ पर्व स्थल (घाट) लाई विभिन्न ध्वजापताकाबाट सिँगारिएको छ।

छठपूजा स्थलमा केही दिनअघिदेखि नै सरसफाइ गरेर चिटिक्क पारिएको छ। श्रद्धालु भक्तजनहरुले आफूलाई पायक पर्ने ठाउँमा गएर पूजाआजा गर्नेछन्। भारतीय पर्यटकहरुले समेत यहाँ छठको पूजा गर्ने बताइन्छ।

छठ पर्व चार दिनसम्म मनाइन्छ। मंगलबारदेखि सुरु भएको पर्वमा बिहीबार तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अपर्ण र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य चढाएपछि यो पर्व विधिवत् रुपमा सम्पन्न हुने गर्दछ।